बाँकेको राप्तीसोनारीमा बाघको आतङ्क अत्यधिक बढेको छ । दुई दिनमै बाघले राप्तीसोनारीमा दुई जना महिलाको ज्यान लिएपछि राप्तीपारिका स्थानीय बासिन्दा अत्यधिक त्रसित भएका छन् । बाघले दिनदिनै मानिस मार्न थालेपछि बाघ नियन्त्रणका लागि विभिन्न सरकारी निकायहरू अभियानमा लागेका छन् ।
डिभिजन वन कार्यालय बाँकेका सहायक वन अधिकृत गणेश खड्काले बाघलाई नियन्त्रण तथा व्यवस्थापन गर्न विभिन्न निकायसँग समन्वय गरेर आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए ।
बाघलाई नियन्त्रण गरिदिनु पर्यो भनेर यी सबै निकायमा अनुरोध गरिसकेकाले सोही अनुरूप आइतबार नै राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोली नेपालगञ्ज आउने सहायक वन अधिकृत खड्काले बताए ।
उनका अनुसार सो टोलीले नेपालगञ्ज पुगेलगत्तै राप्तीसोनारीमा गएर बाघ नियन्त्रणका लागि आवश्यक कार्य आइतबारबाटै शुरु गर्नेछ ।
स्थानीयस्तरमा माइकिङ र एफएम रेडियोबाट सूचना प्रसारण गरेर स्थानीय बासिन्दालाई जङ्गलभित्र प्रवेश नगर्न तथा अनावश्यक घरबाट बाहिर ननिस्कन अनुरोध गरिरहेको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।
यसैबीच, बाँके निकुञ्जले पनि राप्तीसोनारीमा बाघ धपाउन थप हात्ती र सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । यसअघि पनि दुई वटा हात्तीलाई निकुञ्जले पठाएको थियो ।
राप्तीसोनारी ६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारुको शनिबार बाघको आक्रमणबाट मृत्यु भएको थियो । त्यसअघि बाघले आक्रमण गर्दा राप्तीसोनारी ४ पर्सोनाकी ५३ वर्षीया लीला बिष्टको मृत्यु भएको थियो । जंगलमा घाँस दाउरा काट्न गएको बेलामा बाघले मारेको हो ।