भैरहवा(कृषि विकास वैंक लुम्बिनी प्रदेश कार्यालय अन्तरगतका ६ जिल्लामा कुल कर्जा लगानीको रकम १७ अर्ब मध्ये ४४ प्रतिशत कृषि क्षेत्रमा लगानी भएको छ । पछिल्लो समय बैंकको कर्जा अन्य क्षेत्रमा भन्दा कृषिमा बढी भएको बैंकले जनाएको छ ।
रुपन्देही, कपिलवस्तु, पश्चिम नवलपरासी, गुल्मी, पाल्पा र अर्घाखाँची जिल्ला हेर्दै आएको बैंकको प्रदेश कार्यालयले कुल लगानीको ४४ प्रतिशत अर्थात ७ अर्ब ४८ करोड रुपैयाँ कृषिमा लगानी रहेको प्रदेश निर्देशक राजेशकुमार श्रीवास्तवले बताए । “हामी अन्तरगतका ६ जिल्लामा तुलनात्मक रुपमा लगानी भएको सबै भन्दा ठूलो क्षेत्र कृषि हो” श्रीवास्तवले भने ।
कार्यालयका अनुसार कृषि पछि उद्योग तथा अन्य सेवा व्यवसायमा २८ प्रतिशत, थोक व्यवसाय कर्जामा २२, उत्पादनमुलकमा ५ तथा माछामा १ प्रतिशत लगानी रहेको छ । ६ जिल्लामा बैंकका २६ शाखा कार्यालयबाट बैंकिङ कारोबार हुने गर्दछ । ६ जिल्लामा बैंककम कुल बचतकर्ता १ लाख ४५ हजार १ सय ३१ तथा कर्जाग्राही १८ हजार १ सय ९१ रहेका छन् ।
रुपन्देहीमा बढी सेवाग्राही
बैकको लुम्बिनी प्रदेश अन्तरगतका जिल्लामा सबैभन्दा बढी सेवाग्राही रुपन्देहीमा रहेका छन् भने लगानी पनि यही नै बढी छ । ९ अर्ब लगानी रहेको लुम्बिनीमा कृषि क्षेत्रमै लगानी बढी रहेको बैंकको प्रदेश कार्यालय भैरहवाले जनाएको छ । रुपन्देहीमा मात्रै बैंकका ६२ हजार बचतकर्ता र ७ हजार ७ सय कर्जाग्राही रहेका छन् ।
मंसिर मसान्तसम्म ४ अर्ब ८० करोड वचत संकलन रहेको छ । बैंकको भैरहवा, बुटवलमा २।२, मर्चवार, लुम्बिनी, धकधई, दयानगर, फर्सासिटकरलगायत ११ शाखा जिल्लामा छन् भने प्रदेश कार्यालय भैरहवामा रहेको छ ।
सहुलियतपुर्ण कर्जामा पनि प्रगति
बैंकको लुम्बिनी प्रदेश कार्यालय अन्तरगतका ६ जिल्लाबाट मंसिर मसान्त सम्म कुल २ हजार ४ सय ५३ जनाले सहुलियतपूर्ण कर्जा लिएको बैंकले जनाएको छ । बैंकको प्रदेश कार्यालयका वरिष्ठ व्यवसाय अधिकृत अनिल भुसालका अनुसार २ हजार ४ सय ५३ ऋणीमा ४ अर्ब २ करोड ६२ लाख ४८ हजार रुपैयाँ लगानी रहेको छ । सहुलियत कर्जामा सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुजन्य कर्जामा छ । यो शिर्षकमा बैंकले ५ करोडसम्म सहुलियत ब्याजदरमा र त्यसमाथि थप ब्याजदरमा कर्जा प्रदान गर्ने भुसालले बताए ।
यो शिर्षकमा ३ अर्ब ५१ करोड ९० लाख ६८ हजार रुपैयाँ लगानीमा छ भने महिला उद्यमशिलता कर्जामा मंसिर महिनासम्म ६ सय ९ जनाले ४९ करोड ३५ लाख ३० हजार रुपैया ऋण लिएका छन् । यो कर्जामा महिलाले उद्यम गर्नका लागि बैंकले बिना धितो १० लाख रुपैयाँसम्म लगानी गर्दछ ।
अस्पतालमा २४ घन्टै सेवा
बैंकले लुम्बिनी अञ्चल प्रादेशिक अस्पताल बुटवलमा एक्सटेन्सन काउन्टर स्थापना गरी सेवा दिइरहेको छ । अस्पतालको काउन्टरबाट नगद जम्मा, नगद भुक्तानी, चेक क्लियरेन्स मात्र नभई अस्पतालमा उपचारका लागि आउने बिरामीको ओपिडी टिकट, अस्पतालको सेवाको बिल, इमरजेन्सी भर्ना टिकट, बिरामी भर्ना गर्दा लाग्ने डिपोजिट रकम, डिस्चार्ज गर्दाको हिसाबलगायतका सेवा बैंकको काउन्टरबाटै २४ घण्टा प्रदान भइरहेको बैंकका प्रदेश निर्देशक श्रीवास्तबले बताए ।