पुस २५, २०७८ आइतबार

 राष्ट्रिय सभाको बैठक पुन: सरेको छ । पुस २७ गतेका लागि आह्वान गरिएको बैठक माघ ३ गतेसम्मका लागि स्थगित गरिएको सूचना संघीय संसद्का महासचिव भरतराज गौतमले जारी गरेका छन् । 

राष्ट्रिय सभाको बैठकमा सहभागी सांसद । तस्बिर स् रासस

महासचिव गौतमले आइतबार सूचना जारी गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठक माघ ३ गते दिउँसो १ बजे बस्नेगरी निर्धारण गरिएको जानकारी गरेका छन् ।

'विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले' अर्को मिति तय गरिएको सूचनामा उल्लेख छ । यसअघि पुस २५ गतेका लागि तय गरिएको बैठक एमालेको आग्रहमा २७ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

२७ गतेको बैठक कुन विशेष कारणवश स्थगित गरिएको हो भन्नेबारे संसद् सचिवालयका अधिकारीले बताउन चाहेनन् ।