पुस २५, २०७८ आइतबार

मस्को – रुसले युक्रेन र युरोपको सुरक्षासम्बन्धी वार्तामा संयुक्त राज्य अमेरिकासँग कुनै सहयोग स्वीकार नगर्ने बताएको छ ।  

रुसले आज आइतवार युक्रेन र युरोपको सुरक्षासम्बन्धी वार्तामा अमेरिकासँग कुनै सहुलियत–सहयोग स्वीकार नगर्ने जनाउँदै अमेरिकी सङ्केतहरूबाट निराश रहेको बताएको हो । 

‘हामी कुनै पनि सहुलियतमा सहमत हुने छैनौँ । त्यो पूर्णरूपमा बहिष्कृत छ’, रुसका उप(विदेशमन्त्री सर्गेई र्‍याबकोभले रुसी समाचार एजेन्सीहरूलाई भन्नुभयो, ‘हामी पछिल्ला केही दिनमा वाशिङ्गटनबाट तर ब्रसेल्सबाट पनि आउने सङ्केतहरूबाट निराश छौँ ।’ 

पछिल्ला केही दिनयता युक्रेनको विषयलाई लिएर अमेरिका र रुसबीच तनाव बढिरहेको छ । अमेरिकाले युक्रेनसँगको सीमामा सेना परिचालन गरेको रुसले थप आक्रमण गर्न सक्ने भन्दै चेतावनी दिइरहेको छ तर रुसले त्यसलाई पटक–पटक अस्वीकार गर्दै आएको छ । रुसले आफ्नो भूमि रक्षाका लागि युक्रेनको सिमानामा सेना तैनाथ गरेको तर्क गर्दै आएको छ ।

यही विषयमा केही दिनअघि मात्रै दुई देशका राष्ट्रपतिबीच टेलिफोन वार्ता भएको थियो । वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको विषयलाई लिएर नयाँ नाकाबन्दी लगाए अमेरिकासँगको सम्बन्ध पूरै विच्छेद हुने चेतावनी दिनुभएको थियो । टेलिफोन संवादमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि आक्रमण भएमा अमेरिका र उसका सहयात्री देशहरूले निर्णायक जवाफ दिने बताउनुभएको थियो ।