बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा धादिङका श्यामनारायण श्रेष्ठ नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
धादिङ्ग जिल्ला ज्वालामुखी गाउँपालिका वडा नम्बर–२ हटिया निवासी श्रेष्ठलाई नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यमन्त्री पाण्डेले मुख्य न्यायाधिवक्तामा सिफारिसमा गरेका हुन् भने प्रदेश प्रमुख शर्माले सो पदमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठले आज नै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख शर्मा, मुख्यमन्त्री पाण्डे र प्रदेशका मन्त्रीहरुको उपस्थितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाले सपथ ग्रहण गराएका हुन् ।
मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम श्रेष्ठले सपथ ग्रहण गरेको प्रदेश प्रमुख कार्यालय बागमती प्रदेश हेटौंडाका प्रवक्ता कृष्णप्रसाद आचार्यले जानकारी दिए ।