एजेन्सी : इटालियन सिरी ‘ए’ फुटबलमा दोस्रो स्थानको एसी मिलान नापोलीसँग १–० गोलले स्तब्ध भएको छ ।
सोमबार बिहान सम्पन्न सान सिरोमा भएको खेलमा पाहुना टोली नापोलीलाई जिताउन माटेओ पोलिटानोले निर्णायक गोल गरेका थिए । निकै रोमाञ्च बनेको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको खेलको ४९औँ मिनेटमा माटेओले गरेको गोल नै नापोलीको जितमा निर्णायक बनेको थियो । खेलको इन्ज्युरी समयमा मिलानका एन्टे रेबिकले रातो कार्ड पाएका थिए ।
उक्त जितसँगै नापोली २६ खेलमा ५० अंक जोड्दै पाँचौँ स्थानमा उक्लियो । यता पराजित मिलान भने ५६ अंकका साथ दोस्रो स्थानमा छ । उसले २७ खेल खेलेको छ । त्यस्तै मिलान पराजित हुँदा तेस्रो स्थानको युभेन्टसलाई फाइदा पुगेको छ । साविक विजेता युभेन्टससँग ५५ अंक छ । उसले २६ खेल खेलेको छ । युभेन्टसले अब दोस्रो स्थानमा उक्लिँदै उपाधि होडमा इन्टर मिलानलाई दबाबमा राख्ने माैका छ ।