पूर्वराजा ज्ञानेन्द्र शाहले देश पराइहरूको खेलमैदान बनिसकेकाे बतनएका छन् । उनले ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभ कामना सन्देश जारी गर्दै राष्ट्रियताका आधारहरूमाथि प्रहार भई देशको अस्तित्वसमेत सङ्कटमा परेको अवस्थामा एकताको महत्व र पृथ्वीनारायण शाहका योगदान एवं दिव्य उपदेशको सान्दर्भिकता थप बढेको उल्लेख गरेका छन् ।
‘राष्ट्र निर्माताबाट परराष्ट्र मामिलाका नीति र व्यवहारको संवेदनशीलतालाई सदैव आत्मसात गरिरहनुपर्ने सन्देश तथा दिव्य उपदेशका उपेक्षाका कारण नै यतिबेला हामी असन्तुलनको परिणाम बेहोर्दै छौं,’ सन्देशमा पूर्वराजा शाहले भनेका छन् ।
प्रणाली केवल साधन हुने र साधन परिवर्तनलाई नै महान उपलब्धिका रूपमा वर्णन गर्ने प्रयास हुँदै आएको उनको भनाइ छ । ‘सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बन्दछ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बर्बाद गर्न नहुने निष्कर्षमा पुग्न विलम्ब गरिनु हुँदैन,’ उनले भनेका छन् ।
उनले आफ्नो गौरवमय अस्तित्वलाई जोगाइराख्न हिमाल, पहाड र तराईका जनता सबै एक बन्न पनि आह्वान गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो राष्ट्रियता सुदृढ राखौं अनि समग्र राष्ट्रलाई सिँगारौँ भन्ने हाम्रो आजको आकांक्षा र आवश्यकता हो ।’