पुस २६, २०७८ सोमबार

 प्रधानमन्त्री कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबले प्रदेश नम्बर २ लाई २४ रनले हराउँदै विजयी सुरुवात गरेको छ । 

कीर्तिपुरको त्रिवि मैदानमा आज सोमवार भएको खेलमा एक सय ६४ रनको लक्ष्य पछ्याएको प्रदेश २ ले २० ओभरमा नौ विकेट गुमाएर एक सय ३९ रनमात्र बनाउन सक्यो । उसका हरिशंकर साहले २६ बलमा ३६ रन र मोहमद आदिल आलमले १४ बलमा ३५ रनको योगदान गरे पनि त्यो जितका लागि पर्याप्त भएन ।

बलिङतर्फ एपीएफका लागि अविनाश बोहरा, भुवन कार्की र कमल ऐरीले समान दुईरदुई विकेट लिए । यस्तै शरद भेषवाकर र किशोर महतोको नाममा एकरएक विकेट रह्यो ।

यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफले २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६३ रन जोडेको थियो । एपीएफका लागि आसिफ शेखले ६३ र प्रदीप ऐरीले ६० रनको योगदान गरे ।

बलिङतर्फ प्रदेश २ का रितेश सिंहले चार विकेट हात पार्दा विवेक यादवले एक विकेट लिए ।