पुस २७, २०७८ मंगलबार

चिकित्सकहरूका अनुसार बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको छ।

यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो, यद्यपि उनको लामो समय बाँच्ने सम्भावना कति छ भन्ने अझै स्पष्ट छैन।

"प्रत्यारोपण गर वा मरको अवस्था थियो," ५७ वर्षीय बेनेटले शल्यक्रियाको एक दिनअघि भनेका थिए।

"मलाई थाहा छ यो अँध्यारोमा हानिएको गोली हो तर यो नै मेरो अन्तिम विकल्प हो।"

मस्तिष्क मृत घोषित मानिसमा सुँगुरको मिर्गौला प्रत्यारोपण
'जीएम' सुँगुर मानवका लागि अङ्गदाता
युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरूलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले यो प्रक्रिया गर्न एउटा विशेष खालको छुट दिएको थियो।

प्रत्यारोपण गर्ने चिकित्सा टोलीलाई यसले वर्षौँको अनुसन्धानको परिणाम दिएको छ र यसले विश्वभरि मानिसको जीवनलाई परिवर्तन गर्नसक्छ।

शल्यचिकित्सक बार्ट्ली पी. ग्रिफिथले यो शल्यक्रियाले विश्वलाई "अङ्ग अभाव सङ्कटको समस्या समाधानका लागि एक कदम नजिक ल्याउने" बताएको युनिभर्सिटी अफ मेरिल्याण्ड स्कूल अफ मेडिसिनको विज्ञप्तिमा उल्लेख छ।

OrganDonor.gov का अनुसार सङ्कटको अर्थ अहिले अमेरिकामा दैनिक अङ्ग प्रत्यारोपणको पर्खाइमा रहेका १७ जना मानिसको ज्यान गइरहेको छ।

त्यसमा एक लाखभन्दा बढी मानिसहरू पर्खाइको सूचीमा रहेको बताइएको छ। BBC