पुस २७, २०७८ मंगलबार

थाइल्यान्डमा सम्पन्न ‘थाइल्यान्ड बाई युटिएमबी अल्ट्रा ट्रेल’ रनिङ प्रतियोगितामा महिलातर्फ प्रथम र पुरुष–महिला तर्फको समग्र खेलमा तेस्रो स्थान हासिल गरेकी सुनमाया बुढा सोमबार गृह प्रदेश कर्णाली आएकी छिन् ।

थाइल्याण्डको च्याङ्ग माइमा भएको दौड एसियामा सबैभन्दा ठूलो ‘ट्रेल रेस’ मानिएको छ । उक्त प्रतियोगिताअन्तर्गत महिलातर्फ ११० किलोमिटर लामो ‘ट्रेल रेस’मा उनी प्रथम भएकी थिइन् ।


सुनमायाले ११० किलोमिटरको दूरी १४ घण्टा ५४ मिनेट एक सेकण्डमा पूरा गरेकी थिइन् । नेपालकी चर्चित अल्ट्रा म्याराथन धाविका मिरा राईले १७ घण्टा १२ मिनट ४८ सेकेण्डको समय लगाएकी थिइन् ।

सुनमायाले राईले निर्धारित दूरी दुई घण्टा अगावै पूरा गरेकी थिइन् । महिलातर्फ नेपालकी मिरा राई दोस्रो भइन् भने थाइल्यान्डकी फिचामोन राक्साकुल तेस्रो भएकी थिइन् । यो जितसँगै कर्णालीको जुम्लाकी धावक सुनमायाको चर्चा देश विदेशमा भइरहेको छ ।

सुनमायालाई प्रदेश सरकारले दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ ।