पुस २७, २०७८ मंगलबार

धनुषा । गणेशमान चारनाथ नगरपालिका जनप्रतिनिधिले भत्ता तथा अवलोकनको नाममा लाखौ रुपैयाँको अनियमितता गरेको पाइएको छ । अनियमिततामा नगर प्रमुखदेखि उपप्रमुख, वडाअध्यक्षसम्मको संलग्नता रहेको पाइएको हो । अवलोकन भ्रमण भत्ता, इन्धन खर्च, खाजा खर्च लगायतको शीर्षकमा गत आर्थिक वर्षमा लाखौँ रुपैयाँ अनियमितता भएको हो । विना अख्तियारी नै रकम खर्च गरिएको पाइएको छ ।


नगरप्रमुख रामबाबु यादवले गाडी मर्मत, इन्धन खर्च, खाजा खर्च, विविध खर्च शीर्षकमा जथाभावी खर्च गरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । एउटै आर्थिक वर्षमा उनले एक पटक २ लाख ३ हजार ४ सय २७, फेरि गाडी मर्मत शीर्षकमै ३ लाख ६ हजार ८ सय ८४, मर्मत शीर्षकै थप ७६ हजार ८ सय ४० रुपैयाँ खर्च गरिएको हो । सो खर्चमा अनियमितता भएको प्रतिवेदनमा उल्लेख छ ।


नगर उपप्रमुख मिनाकुमारी यादवले अवलोकन भ्रमणको नाममा ९६ हजार रुपैयाँ, अन्तरराष्ट्रिय महिला दिवसका नाममा ४ लाख ४३ हजार १ सय ८८ रुपैयाँ, महिला सशक्तीकरण तालिमको नाममा २ लाख ९२ हजार रुपैयाँ खर्च गरेको जनाइएको छ ।


सो नगरपालिकाबाट महिलामा पाठेघरको स्वास्थ्य जाँचको नाममा ८५ हजार ६ सय ९३ रुपैयाँ निकासा गरिएको छ । उनले गरेको यी खर्चमा समेत अनियमितता भएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।