चैत २, २०७७ सोमबार

फाइनल तस्बिर - एजेन्सी

एजेन्सी : इटालियन सिरी फुटबल क्लब युभेन्टसका पोर्चुगिज सुपरस्टार  क्रिस्टियानो रोनाल्डोले ब्राजिलका महान खेलाडी पेलेको आधिकारिक गोलको रेकर्ड तोडेका हुन् ।

आइतबार राति सम्पन्न भएको सिरी ए लिग अन्तर्गतको खेलमा काग्लीअरीविरुद्ध ह्याट्रिक गरेसँगै रोनाल्डोले पेलेको करियरको ७६७ आधिकारिक गोलको रेकर्ड तोडेका हुन् ।

यसअघि पेलेको ७५७ गोल भनिएपनि उनको आघिकारिक खेल र गोल रेकर्ड ७६७ मानिएको थियो ।रोनाल्डोले आफ्नो रेकर्ड तोडेपछि पेलेले बधाई दिदै रोनाल्डोको प्रसंशा गरेका छन् । उनले भनेका छन्, 'जीवन एक्लो यात्रा हो, सबैले आफ्नो यात्रा तय गर्छन, र तिम्रो जीवनको यात्रा कति सुन्दर छ, म तिम्रो खेल्ने शैलीको प्रसंशक हुँ । तिमि खेलेको हेर्न मलाई निकै मनपर्छ । मेरो आधिकारिक गोल रेकर्ड तोडेकोमा तिमीलाई धेरै धेरै बधाई ।'

खेलपछि रोनाल्डोले सामाजिक संजालमा पोष्ट गर्दै पेलेको आफु ठुलो प्रसंशक भएको भन्दै उनको ७६७ गोलको रेकर्डलाई नै आधिकारिक मान्नु पर्ने बताएका छन् । रोनाल्डोले पेलेको किर्तिमान तोड्दै गर्दा मैले यस्तो सपना कहिलेपनि नदेखेको बताए ।

रोनाल्डोले क्लब करियरमा ६६८ र आफ्नो देश पोर्चुगलका लागि १०२ गोल गरेका छन् । क्लब करियरमा रोनाल्डोले पोर्टोका लागि ५ गोल गरेका छन् भने म्यानचेस्टर युनाइटेडका लागि ११८ गोल रियल मड्रिडका लागि ४५० गोल र युभेन्टसका लागि अहिलेसम्म ९५ गोल गरेका छन् ।