पुस २८, २०७८ बुधबार

एजेन्सी – कप्तान विराट कोहलीले दक्षिण अफ्रिकासँग तेस्रो तथा निर्णायक टेस्ट खेलमा राम्रो प्रदर्शन गरेपनि अन्य ब्याटरको साथ नपाउँदा भारत पहिलो इनिङमा मध्यम योगफलमै अल आउट भएको छ ।

केप टाउनमा टस जितेर पहिला ब्याटिङ रोजेको भारत पहिलो दिन नै ७७.३ ओभरमा २ सय २३ रनमा अल आउट भयो । भारतका विराट कोहलीले २ सय १ बलमा १२ बलमा १ छक्कासहित सहित सर्वाधिक ७९ रनको योगदान दिए ।

दुई वर्षदेखि शतक विहीन कोहलीले तेस्रो टेस्टमा राम्रो ब्याटिङ गरेपनि अन्य ब्याटरको साथ नपाउँदा शतकको सम्भावना सकिएको थियो । भारतले लगातार विकेट गुमाएको थियो । कोहली नवौं विकेटका लागि कागिसो रबाडाको बलमा क्याच हुन पुगे ।

कोहलीलाई कुनै पनि ब्याटरले राम्रो साथ दिन सकेनन् । एक समय शतकको सम्भावना देखाएपनि अन्य ब्याटरले साथ नदिदा पूरा हुन सकेन । तेस्रो विकेटका लागि चेतेश्वर पुजारा र कोहलीले ६२ रनको साझेदारी गरेका थिए । पुजारा मार्को ज्यानसनको बलमा ४३ रनमा क्याच आउट भए । ७७ बल खेलेका पुजाराले ७ चौका प्रहार गरे । भारतले ओपनर लोकेश राहुल १२ र मयंक अग्रवाललाई १५ रनमा गुमाएको थियो ।

अजिंक्या रहणे ९, ऋषभ पन्त २७, रविचन्द्रन आश्विन २, शार्दुल ठाकुर १२ र जस्प्रित बुमराह शून्यमा आउट भएपछि कोहली पूरा दबाबमा परेका थिए । दक्षिण अफ्रिका तीव्र गतिका बलर कागिसो रबाडाले ४ विकेट लिए । मार्को ज्यानसनले ३, डुआने ओलिभियर, लुन्गी एनगिडी र केशव महाराजले १–१ विकेट लिए ।

पहिलो दिन दक्षिण अफ्रिकाले पहिलो इनिङमा ८ ओभरमा १७–१ को अवस्थामा खेल सकिएको थियो । दक्षिण अफ्रिका २ सय ६ रनले पछि छ । प्रमुख ब्याटर तथा कप्तान डिन एल्गरलाई जस्प्रित बुमराहले ३ रनमा पुजाराबाट क्याच गराए । एडेन माक्ररम ८ र केशव महाराज ६ रनमा अविजित छन् ।

तीन टेस्ट खेलको सिरिज १–१ को अवस्थामा छ । पहिलो खेलमा १ सय १३ रनले विजयी हुँदा दोस्रो खेलमा ७ विकेटले पराजित भएको थियो ।