पुस २९, २०७८ बिहिबार

कञ्चनपुर । नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीको सातौँ अधिवेशनले सहमतिका साथ लोकराज जोशीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उप-सभापतिमा धनेश्वरी भट्ट, सचिवमा नवराज पन्त, सह-सचिवमा वीरसिंह धामी, कोषाध्यक्षमा पुष्पराज भट्ट र सह-कोषाध्यक्षमा जानकी खडायत चयन भएका छन् । यस्तै सदस्यहरूमा भूमा चन्द, रतन जैरु, टेकबहादुर हमाल, ललितबहादुर ऐर र कलावती शाह चयन भएका छन् ।


शुक्लाफाँटा नगर पालिकाको सभाहलमा उपशाखा झलारीका सभापति शेरबहादुर साउँदको अध्यक्षतामा बुधबार २२ औँ वार्षिक साधारण सभा तथा सातौँ अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि शुक्लाफाँटा नगर पालिकाका नगर प्रमुख दिलबहादुर ऐर रहेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख ऐरले नि:स्वार्थ भावनाले काम गर्ने समाजिक संस्था रेडक्रसलाई नगरको सदैव साथ रहेको र आगामी दिनहरूमा पनि साथ सहयोग रहिरहने बताए । सामाजिक परोपकारी संस्था भएकाले विपद्का बेला सेवा गर्दै आएको रेडक्रसले शुक्लाफाँटाका जनतालाई समस्यामा सहयोग गर्ने गरेको उनले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीका सचिव लोकराज जोशीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष दानसिंह ऐरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीका सभापति शेरबहादुर साउँदले कार्यक्रमको समापन गर्दै आगामी कार्यकालमा आफू पुन: नेतृत्वमा नआउने घोषणा गरे। साथै उनले सहमतिका साथ नयाँ नेतृत्व आउनुपर्ने बताए । कार्यक्रममा आजीवन सदस्य, सभासद्, रेडक्रस जिल्ला शाखा उपमन्त्री मधू बोहरा, शुक्लाफाँटा नगरपालिका वडाध्यक्ष ; लालबहादुर ऐर, जगता राना, रमेशबहादुर ऐर, दिलबहादुर बुढा र सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीकी उपसभापति धनेश्वरी भट्टले राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन सचिव लोकराज जोशीले गरेका थिए ।

 वि.सं. २०५६ सालमा स्थापना भएको रेडक्रसमा १ सय ९० जना पुरुष र ३४ जना महिला गरी २ सय २४ जना आजीवन सदस्य रहेका छन् ।