पुस २९, २०७८ बिहिबार

कञ्चनपुर । नेकपा एकीकृत समाजवादी पार्टी शुक्लाफाँटा नगर कमिटीको बिहीबार सम्पन्न प्रथम नगर भेलाले शुक्लाफाँटा नगर पालिका वडा नम्बर १ का वडाध्यक्ष हरिष बिष्टको अध्यक्षतामा १ सय १ सदस्यीय नगर कमिटी चयन गरेको छ । कमिटीको उपाध्यक्षमा गोपालसिंह महरा र तप्त ठकुल्ला चयन भएका छन् । यस्तै सचिवमा प्रेम लुहार चयन भएका छन् भने उप-सचिवमा मनोज साउँद, टिकाराम तिवारी र लक्ष्मी राना चयन भएका छन् ।


पार्टी केन्द्रीय कमिटी सचिव एवं सुदूरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले पार्टीको शुक्लाफाँटा नगर कमिटीको प्रथम नगर भेलालाई सम्बोधन गर्दै बाध्यताले नयाँ पार्टी गठन गर्नु परेको बताइन् ।

"पार्टीभित्र एकल चरित्र लाद्न खोजियो र त्यसकाविरुद्ध हामीले पार्टीभित्र अन्तरसंघर्ष गर्‍यौँ" उनले भनिन् "त्यसकारण हामीले विद्रोह गर्‍यौँ, यो हाम्रो रहर थिएन बाध्यता थियो ।" साथै उनले जनताको पक्षमा सधैँ अग्रगामी भएर लड्ने बताउँदै गणतन्त्र र संविधानको रक्षाका निम्ति आफ्नो पार्टी सदैव लागिरहने जानकारी दिइन् । अब बन्ने नगर कमिटी चुस्तदुरुस्त हुनेमा आफू विश्वस्त रहेको बताउँदै शाहले सशक्त र निष्ठावान् व्यक्तिहरू नगरमा आउनुपर्नेमा जोड दिइन् । यसैगरी कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी पार्टी स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री उर्वादत्त पन्तले वडामा पनि भ्रष्टाचारीहरू रहेकाले यिनीहरूलाई जरैदेखी उखेलेर फाल्दै आफ्नो वडाको बजेटलाई सदुपयोग गर्न सबैलाई सचेत गराए । साथै उनले समाजमा व्याप्त जातीय विभेद, पछ्यौटेपनको अन्त्यका लागि लाग्नुपर्ने बताए । यस्तै कञ्चनपुर इन्चार्ज तथा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले पनि बाध्यताबस पार्टीभित्र विद्रोह गर्नुपरेको बताए । कार्यक्रममा निर्वाचन आयोगका वीरहादुर बुढाथोकी, पोलीटव्युरो सदस्य एवं सुदूरपश्चिम प्रदेश सह इन्चार्ज रामकुमार ज्ञवाली, केन्द्रीय सदस्य माया पन्त,नेकपा एकीकृत समाजवादी पार्टी जिल्ला अध्यक्ष एवं पुनर्र्वास नगर पालिकाका नगर प्रमुख जीवनराज थापा,प्रदेश कमिटी सदस्य खेम भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष माधव पन्तले गरेका थिए । शुक्लाफाँटा नगर पालिका वडा नम्बर ११ का वडाध्यक्ष दिलबहादुर बुढाको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रममा महफिल्म सिटीले सांगितिक मनोरञ्जनका लागि नृत्यसमेत प्रस्तुत गरेको थियो ।