पुस ३०, २०७८ शुक्रबार

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रतिनिधिसभा अवरोधमा नयाँ कीर्तिमान बनाएको छ । २०५७ सालको आफ्नै कीर्तिमानलाई  एमालेले प्रतिनिधिसभाको नवौँ अधिवेशनमा पछाडि पार्दै नयाँ कीर्तिमान बनाएको हो ।

त्यसबखत लाउडा प्रकरणमा एमालेले ५७  दिन अवरोध गरेको थियो । त्यस अवरोधलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले समेत एमालेलाई साथ दिए ।

यसपटक एमालेले नवौं अधिवेशनमा ५२ दिन र चालू अधिवेशनमा मङ्सिर २८ यताका  सबै बैठकमा  अवरोध गरिरहेको छ । बिहीबारसम्म दुवै अधिवेशन गरेर ८३  दिन पुगिसकेको छ  । नवौँ अधिवेशनका १३ र चालू अधिवेशनका तीन बैठक एमालेकै कारण चल्न सकेका छैनन्  । विघटनपछि  पुनःस्थापित  प्रतिनिधि  सभाको नवौँ र १०औँ  अधिवेशनमा पनि एमालेको अवरोध जारी छ  ।