काठमाडौँ । नेपाली भूमी लिपुलेकमा भारत सरकारले बनाउँदै गरेको सडकका बारेमा भारतीय दूतावासले प्रस्टीकरण दिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक विस्तार भइरहेको बताएपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ ।
शनिबार भारतीय दूतावासका प्रवक्ताले विज्ञप्ति जारी गर्दै सीमा विवादबारे दुई मुलुकबीच स्थापित अन्तरसरकारी संयन्त्रहरू वार्ता तथा संवाद सबैभन्दा उपयुक्त माध्यम हुने बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयहरूलाई सधैँ हाम्रो निकट तथा मैत्री द्विपक्षीय सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ ।’ विज्ञप्तिमा भारत नेपाल सीमाका सम्बन्धमा भारत सरकारको धारणा सार्वजनिक रूपमा यथावत् र स्पष्ट रहेको उल्लेख छ ।