माघ ५, २०७८ बुधबार

चितवन, माघ ५ गते । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनले आयोजना गरेको कार्यक्रममा धान उत्पादन वृद्धि गर्न हाल प्रयोग भइरहेको बीउ परिवर्तन गर्नुपर्ने विज्ञहरूले औँल्याएका छन् ।  विज्ञहरूले धानको उत्पादन र उत्पादकत्व वृद्धिका लागि आधुनिक प्रविधि र उन्नत जातको बीउ प्रयोग अपरिहार्य भइसकेको धारणा व्यक्त गरेका हुन् । चैते धान लगाउने पूर्वसन्ध्यामा आयोजना गरेको उक्त कार्यक्रममा धान उत्पादक कृषक, प्रशोधक (मिलर) र प्राविधिक तथा वैज्ञानिकको सहभागिता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रम (नार्क)का वैज्ञानिक डा. रामवरण यादवले धानको बीउ परिवर्तन अहिलेको पहिलो आवश्यकता रहेको बताए ।

नेपालका तराई र भित्री मधेसका जिल्ला धान उत्पादनको हिसाबले महत्त्वपूर्ण जिल्ला हुन् । केही हिमाली जिल्लाबाहेक प्रायः सबै जिल्लामा धान खेती हुने गरेको छ । नेपालको कुल गार्हस्थ उत्पादनमा धानको योगदान ७ प्रतिशत छ भने कृषिमा धानको योगदान १५ प्रतिशत हाराहारीमा छ । तर पनि यो खेतीमा व्यावसायिक रूपमा लाग्ने कृषक १० देखि १२ प्रतिशतमात्र छन् । नेपालमा आफ्ना लागि धान उत्पादन गर्ने ५० प्रतिशतभन्दा बढी छन् भने बढी भए बिक्री गर्नेको प्रतिशत ३८ देखि ४० प्रतिशत छ ।