चन्द्रपुर (रौतहट), २७ असारः यहाँको चन्द्रपुर नगरपालिका-२ सखुवानीका किसान खुशबहादुर बम्जन दैनिकजसो खेत पुगेर आकाश हेर्दै फर्किनुहुन्छ । असारको २७ गते बितिसक्दासमेत यस वर्ष रोपाइँको टुङ्गो नहुँदा उहाँ निराश हुनुहुन्छ ।
धानको बीउ तयार छ तर खेत पूरै सुक्खा छ । खेतमा सिँचाइको सुविधा नहुँदा यहाँका भेगका बम्जनसहित सयौँ किसान आकाश हेर्न बाध्य छन् । गत वर्ष पनि समयमा वर्षा नहुँदा सिँचाइ अभावले धान रोप्न नपाउनुभएका बम्जनले यस वर्ष भने रोपाइँ गर्ने योजना बनाउनुभएको थियो । अहिले आकाशे पानीको भरमा बस्नु परिरहेकाले रोपाइँ अन्योल बनेको उहाँको भनाइ छ । “रोपाइँका लागि आलीघारी जोतखन तयार छ तर पानीको व्यवस्था नहुँदा समस्या भइरहेको हो, खेत पूरै बाझै छन्”, बम्जनले भन्नुभयो ।
यस्तै समस्या र चिन्तामा हुनुहुन्छ सोही गाउका कुलदीप चौधरी । “गत वर्ष सिँचाइ नहुँदा रोपाइँ नभएको खेत अहिले पनि बाँझै रहने चिन्ता छ । अहिलेसम्म पर्याप्त पानी परेको छैन, बीउ ब्याडमै सुकेका छन् । कहिले रोपाइँ गर्ने अन्योलमा छौँ”, उहाँले भन्नुभयो । आकाशे पानीको भरमा बस्नुपर्ने, वैकल्पिक सिँचाइको व्यवस्था नहुनेलगायत कारणले खेत बाँझै हुन थालेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
किरण बम्जन, बाबुराम घिसिङ, उमेश चौधरीलगायत यहाँका सयौँ किसानलाई गत वर्ष बाँझो बनेका खेत यस वर्ष पनि रोपाइँ नहुने हो कि भन्ने चिन्ता बढेको छ ।
जिल्लामा करिब ३८ हजार ५०० हेक्टर जमिन धान रोप्न योग्य भए पनि हालसम्म छ हजार १६० हेक्टरमा मात्रै धान रोपाइँ भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख सुरेन्द्र कुर्मीले जानकारी दिनुभयो । यतिबेलासम्म करिब ४५ देखि ५० प्रतिशत रोपाइँ हुनुपर्ने बताउँदै उहाँले प्रयाप्त वर्षा नहुँदा करिब १६ प्रतिशत रोपाइँ भाएको उल्लेख गर्नुभयो ।
बागमती सिँचाइ आयोजनाले रौतहटको करिब १३ हजार हेक्टर र झाँझ सिँचाइ आयोजनाले करिब चार हजार ५०० हेक्टर जमिन सिँचित गर्दै आएको कार्यालय प्रमुख कुर्मीले जानकारी दिनुभयो । उहाँका अनुसार बागमती सिँचाइबाट चन्द्रपुर नगरपालिकाको आधा भूभाग, बृन्दावन, गुजरा, गढीमाई, माधवनारायण नगरपालिका तथा दुर्गाभगवती गाउँपालिकामा सिँचाइ सुविधा पुगेको छ ।
त्यस्तै झाँझ आयोजनाअन्तर्गत गरुडा, माधवनारायण, गढीमाई नगरपालिका र यमुनामाई गाउँपालिकामा सिँचाइ पुगेको छ । स्यालो ट्युबवेलबाट २० प्रतिशत खेतीयोग्य जमिन सिञ्चित हुने कुर्मीले जानकारी दिनुभयो । स्यालो ट्यिुबेल तरकारीखेतीमा बढी प्रयोग हुने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार नारायणी सिँचाइ व्यवस्थापन कार्यालयअन्तर्गत गण्डक नहरको पानी रौतहट भित्र्याउनसके चार वटा पालिकामा सिँचाइ पुग्ने उहाँले बताउनुभयो ।
उक्त नहर सरसफाइ गरेर पानी रौतहट ल्याउनसके यहाँका बौधीमाई, राजपुर, परोहा नगरपालिका र दुर्गाभगवती गाउँपालिकाका खेत सिञ्चित हुने कार्यालय प्रमुख कुर्मीले उल्लेख गर्नुभयो । उहाँका अनुसार बौधीमाई नगरपालिकाको बङ्कुलबाट दुर्गाभगवती गाउँपालिकाको बडहर्वासम्म गण्डक नहर विस्तार भए पनि लामो समयदेखि उक्त नहरमा पानी आउन सकेको छैन ।
रौतहटको कुल ५२ हजार २०० हेक्टर खेतीयोग्य जमिनमध्ये करिब ३८ हजार ५०० हेक्टरमा धान रोपिँदै आइएको उहाँले जानकारी दिनुभयो । कार्यालय प्रमुख कुर्मीका अनुसार गत वर्ष रौतहटमा करिब ३१ हजार ५०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । मनसुन सक्रिय भई निरन्तर वर्षा भए केही दिनभित्र रोपाइँले गति लिने उहाँले बताउनुभयो ।