भारतको जयपुरस्थित शैलबी अस्पतालमा आईसीयूमा भर्ती भएकी महिलामाथि अस्पतालकै कर्मचारीले यौन दुर्व्यवहार गरेको मामिला बाहिर आएको छ ।
ती महिलाको मुखमा अक्सिजन माक्स राखिएको थियो भने दुवै हात बाँधिएका थिए । आरोपितले ती महिलामाथि पटक–पटक अश्लील हर्कत गरेको प्रहरीको भनाइ छ ।रातभर यौन दुर्व्यवहार सहन बाध्य भएकी पीडित महिलाले बिहान अस्पतालकी महिला नर्सलाई उक्त घटनाबारे बताउन खोज्दा धम्काएर चुप गराएका थिए । पछि पीडितले आफ्नो पतिलाई लेखेर उक्त घटनाबारे जानकारी दिएकी थिइन् ।
प्रहरकिा अनुसार गत सोमबार स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सोही साँझ उनको अपरेशन गरिएको थियो । राति ८ पछि आईसीयूमा सिफ्ट गरेपछि अस्पताल प्रशासनले ती महिलाको पतिलाई त्यहाँ बस्न नपर्ने र आवश्यकता परे बोलाउने बताएको थियो । त्यसपछि उनी बच्चाहरूसँग घर फर्किएका थिए ।
बिहान अस्पताल पुग्दा पत्नीले रुँदै पतिलाई रातिको घटनाबारे बताउन खोजिन् तर अक्सिजन मास्कका कारण बोल्न सकिनन् । त्यसपछि पतिले उनलाई कागज र कलम दिएपछि लेखेर घटनाबारे बताएकी थिइन् ।
डीसीपी प्रदीप मोहन शर्माले सीसीटीभी क्यामरा र ड्युटी चार्ट अनुसार अस्पतालकै नर्सिङ कर्मचारी खुशीराम गुर्जरलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।