मंसिर १४, २०७९ बुधबार

ब्रिटिस गोर्खा सैनिकहरूको पेन्सनलगायतका मागका सम्बन्धमा नेपाल र बेलायतबीच बुधबार वार्ता हुने भएको छ । यसअघि १७ कात्तिकमा भएको वार्तामा भएको सहमतिअनुसार कर्मचारीको तहमा लन्डनस्थित नेपाली दूतावासमा समग्र एजेन्डामा छलफल हुन लागेको हो । जहाँ भूपू गोर्खा सैनिकका प्रतिनिधि पनि सहभागी हुनेछन् । 

बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्य र बेलायतका रक्षा राज्यमन्त्री एन्ड्रु मरिसनबीच गोर्खाका प्रतिनिधिसहित वार्ता भएको एक महिनाभित्रै कर्मचारी तहमा वार्ता हुन लागेको छ । वार्ताको नेतृत्व नेपालका तर्फबाट नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल र बेलायती रक्षा मन्त्रालयका अधिकारी सहभागी हुनेछन् । सरकारले गोर्खा सैनिकका विषयमा वार्ता गर्ने अख्तियारी राजदूत आचार्यलाई दिएसँगै उनको प्रयासमा वार्ता सुरु भएको थियो ।