चैत ४, २०७७ बुधबार

 

एजेन्सी ; स्वीडेनका स्टार ज्लाटान इब्राहिमोभिकले पाँच वर्षपछि राष्ट्रिय फुटबल टोलीमा परेका छन् । मङ्गलबार स्वीडेनका मुख्य प्रशिक्षक जाने एडरसनले उनीसहितको टोली घोषणा गरेका हुन् । गत २२ जुन २०१६ मा युइएफए युरो कपका क्रममा बेल्जियमसँग १–० गोलले पराजित भएयता स्ट्राइकर इब्राहिमोभिकले राष्ट्रिय टोलीबाट खेलेका थिएनन् । उनले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा समेत गरेका थिए ।

त्यसभन्दा अगाडि उनले ११६ खेल खेल्दा ६२ गोल गरेका थिए । उनी स्वीडेन सर्वाधिक गोलकर्ता हुन् । सन्यास लिएपछि भने उनले क्लब फुटबलमा मात्र ध्यान दिएका थिए ।

तथापि, उनले सन् २०१८ मा भएको विश्वकपमा पनि खेल्ने इच्छा जताएका थिए । तर ३९ वर्षीय एसी मिलानका स्ट्राइकर इब्राहिमोभिकलाई एन्डरसनले टोलीमा फर्काएका हुन् ।

अब इब्राहिमोभिकले स्वीडेनबाट विश्वकप छनोटअन्तर्गत जर्जिया र कोसोभोविरुद्ध खेल्ने छन् । त्यसैगरी मार्चको अन्त्यमा हुने स्टोनियासँगको मैत्रीपूर्ण खेलमा पनि उनको सहभागिता रहने छ ।