एजेन्सी ; अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले युएईका दुई क्रिकेटरमाथि ८ वर्षको प्रतिबन्ध लगाएको छ । सन् २०१९ को टि२० विश्वकप छनोट खेलको क्रममा दुवै खेलाडीले अनियमितता गरेको भन्दै आइसिसीले मोहम्मद नवीद र शैमान अनवरलाई आठ वर्षको लामो प्रतिबन्ध लगाएको हो ।
उनीहरूको प्रतिबन्ध सन् २०१९ को अक्टोबर १६ देखि आठ वर्षका लागि लागू हुनेछ । आइसिसीको छानबिनले उनीहरूले अनियमितता गरेको ठहर गरेको छ । लिख्ति र मौखिक बहसपछि आइसिसीको अनियमितता छानबिन समितिले दुवै जना खेलाडीलाई दोषी पाएको छ ।
नवीद र अनवर दुवैजनाले आरोप स्वीकारेका छन् । नवीदले भने आफूले छलफल गरेको ब्यक्ति म्याच फिक्सर रहेको जानकारी पाएलगत्तै भेट्न रोकेको दाबी गरेका छन् । नवीद युएईका पूर्व–कप्तानसमेत हुन् । उनी युएईको प्रतिनिधित्व गरी सर्वाधिक विकेट लिनेको सूचीमा छन् । ३३ वर्षीय नवीदले अन्तर्राष्ट्रिय एकदिवसीयमा युएईका लागि सबैभन्दा बढी विकेट लिएका छन् ।
४२ वर्षीय अनवर भने ओपनर ब्याट्सम्यान हुन् । अनवर युएईका लागि अन्तर्राष्ट्रिय एकदिवसीय र टि२० अन्तर्राष्ट्रिय सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान समेत हुन् ।