चैत ५, २०७७ बिहिबार

काठमाडौं : मोफसलको सर्वाधिक चर्चित तथा सर्वाधिक दोस्रो ठूलो पुरस्कार राशिको विराट गोल्डकप फुटबल प्रतियोगिताको छैटौँ संस्करण आगामी  चैत २६ गतेबाट आयोजना हुने भएको छ । 

बिहीबार विराटनगरमा भएको पत्रकार सम्मेलनमा आयोजक गोल्डकप ट्रस्टले २६ चैतबाट विराट गोल्डकप फुटबल प्रतियोगिता हुने जानकारी गराएको हो ।

आयोजक समिति संयोजक मनोजविक्रम शाहका अनुसार रात्रिकालीन आयोजना हुने उक्त प्रतियोगिता ४ वैशाखमा समापन हुनेछ । ‘विराट गोल्डकप, हाम्रो गौरव’ नारा बोकेको उक्त गोल्डकपमा नेपाल, भारत र क्यामरूनका दस टोली सहभागी हुनेछन् ।

क्यामरूनको अफ्रिकन रुट्स एसोसियसन टिम र झारखण्डको टाटा एकेडेमीले पहिलोपटक विराट गोल्डकप खेल्नेछन् । यस्तै भारतको पुलिस पञ्जाव, नेपालबाट ‘ए’ डिभिजन लिग विजेता मछिन्द्र क्लब, विभागीय टोलीद्वय नेपाल पुलिस क्लब, सशस्त्रको एपिएफ क्लब पनि सहभागी हुनेछन् । यसैगरी मनाङ मर्स्याङ्दी क्लब, गोर्खा ब्वाइज, रुपन्देही र विराटनगर ११ सहभागी हुनेछन् ।

विराटनगरको सहिद रङ्गशालामा हुने प्रतियोगितामा विगतको तुलनामा यसपटक सहभागी टोली, विजेता र उपविजेताले सर्वाधिक नगद पुरस्कार प्राप्त गर्नेछन् ।

विजेता टोलीले १५ लाख १५ हजार पाउनेछ भने उपविजेताले सात लाख ५१ हजार पाउनेछ । यो मोफसलमा खप्तड गोल्डकपपछिको सर्वाधिक दोस्रो धेरै पुरस्कार हो । यसअघि खप्तड गोल्डकपमा विजेता टोलीलाई २१ लाख रुपैयाँ नगद पुरस्कार दिइएको थियो ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकलसहित पदक पाउनेछन् । म्यान अफ द म्याच हुने प्रत्येक खेलाडीले १५ हजार नगद पुरस्कार पाउनेछन् भने सात विधाका उत्कृष्ट खेलाडीलाई समान २५–२४ हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रशिक्षक, गोलकिपर, मिडफिल्डर, डिफेन्स, फरवार्ड, सर्वाधिक गोलकर्ता, व्यवस्थापक र फेयर प्ले अवार्डमा समान २५ हजार रुपैयाँको पुरस्कार प्रदान गरिने जनाइएको छ ।

रमपम चाउचाउ र मारुती सिमेन्टको मुख्य प्रायोजन रहेको सो प्रतियोगितामा पराजित भएर जाने पाहुना टिमलाई पनि नगद पुरस्कारसहित बिदा गरिने आयोजकले जनाएको छ ।