काठमाण्डौ : नेपाल खेलकुद पत्रकार मन्च सुदुरपश्चिम शाखाद्वारा शुक्रबार कैलालीमा आायोजित दोस्रो संस्करणको सुदुरपश्चिम स्पोर्टस् अवार्डमा गएको बर्ष नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सर्वाधिक स्वर्ण पदक विजेता पौडीकी गौरिका सिंह र एथलेटिक्सका गोपीचन्द्र पार्की बर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
गौरिका नोभा अस्पताल बर्षको उत्कृष्ट महिला खेलाडीका रुपमा सम्मानित हुदा पार्की भने नवजीवन अस्पताल पुरुष बर्ष खेलाडी बने।
महिला राष्ट्रिय भलिबल टिमकी सरस्वती चौधरीले भने पिपुल्स च्वाईस अवार्ड पाईन् । सरस्वतीलाई बनदेवी क्लव पिपुल च्वाइस अवार्ड प्रदान गरियो । उनले पौडीकी गौरिका सिंह र क्रिकेटकी अन्जली चन्दलाई पछि पारिन् । नेपाली महिला टोलीले गत वर्ष बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन भलिबलमा स्वर्ण र १३ औं सागमा रजत पदक जित्दा सरस्वती टोलीकी सदस्य थिइन् ।
कुस्तीका राजेन्द्र चन्द बर्ष प्रशिक्षक घोषित भएका छन् । दिनेश सोप बर्ष प्रशिक्षक अवार्ड चन्दलाई प्रदान गरिएको हो ।
कैलाली अस्पताल दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डमा एथलेटिक्सका लक्ष्मीदत्त भट्टलाई सारथी अस्पताल लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । तीन दशक अघि चार पटक नेपाल च्याम्पियन बनेका एथलेटिक्स खेलाडी तयार पार्ने कैलालीको गेटा निवासी भट्टलाई सम्मानित गरिएको हो ।
१३ औं सागकी दोहोरो स्वर्ण पदक विजेता तेक्वान्दोकी आयशा शाक्य र क्रिकेटकी अन्जली चन्दलाई वर्षको स्पेशल अवार्डबाट सम्मानित भए ।
त्यस्तै कुस्तीकी संगिता धामी निसर्ग अस्पताल बर्ष युवा खेलाडी घोषित भइन् । उनले १३ औं सागमा कुस्तीमा स्वर्ण पदक जितेकी थिइन् ।
ब्याडटमिन्टनका प्रिन्स दाहाल र कुस्तीकी सिवाङ्गी दुवे सुदूरपश्चिम आइकन घोषित भएका छन् ।