चैत ८, २०७७ आइतबार

काठमाण्डौं  : प्रथम संस्करणको साराङ्गे छहारी कप पुरुष भलिबल प्रतियोगिताको अन्तिम ८ को समीकरण पूरा भएको छ ।काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटन मैदानमा जारी  प्रतियोगितामा शनिबार भएको लिग चरणको अन्तिम खेलहरुबाट अन्तिम आठमा पुग्ने ८ टोलीको टुंगो लागेको हो ।
प्रतियोगितामा समूह 'ए' बाट आयोजक रातो समूह विजेता र चन्द्र सुर्य ब्लक उधोग उपविजेता बन्दै अन्तिम आठमा पुग्यो भने समूह 'बी' बाट न्युटन स्कुल विजेता र स्प्रिङगल स्कुल उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ ।
समूह 'सी' बाट गल्कोट बाग्लुङ्ग विजेता र राइजिङ युथ उपविजेताको रुपमा क्वाटरफाइनल पुग्दा समूह 'डी' बाट मणिमुकुन्द विजेता र द गोर्खा उपविजेता बन्दै अन्तिम आठमा पुगेका छन् ।
प्रतियोगिताको विजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्दा  उपविजेताले ६१ हजार १ सय ११ र तेस्रो हुने टोलीले ३१ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै, प्रतियोगिताको उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट क्विकर, उत्कृष्ट सर्भर, उदयमान खेलाडी र उत्कृष्ट लिफ्टरले २५ सय प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट प्रशिक्षकले ३ हजार प्राप्त गर्नेछन् ।