काठमाण्डौ : ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यान)ले चैत २१ बाट पहिलो संस्करणको मेयर कप महिला क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आईतबार ललितपुर महानगरपालिका र नेपाल क्रिकेट संघले संयुक्त पत्रकार सम्मेलन गरि सो जानकारी दिएको हो। प्रतियोगिता यही चैत २१ बाट २८ सम्म हुने सो जानकारी दिइएको हो ।
केही महिना अघि दाङमा सम्पन्न भएको प्रधानमन्त्री कप महिला टिट्वान्टी प्रतियोगिताको सेमिफाईनलमा पुगेका ४ टिम तथा ललितपुर ११ गरि ५ टोली रहने सो प्रतियोगिता टिट्वान्टी संरचनामा खेलाईने छ।
प्रतियोगिताको विजेता टोलीले ३ लाख रुपैँया पाउदा उपबिजेताले भने १ लाख ५० हजार पाउनेछन् ।
प्रतियोगिताका लागि ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख उपलब्ध गराउने भएकाे छ ।
यस्तै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले खेलकुद क्षेत्रमा महानगरपालिकाले सहयोग गर्ने उद्धेश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको बताए ।
‘यो वर्ष क्रिकेटसँग सहकार्य गर्ने भन्ने हाम्रो मनाशय रह्यो,र त्यही मनसाय अनुरुप हामीले ललितपुर वुमन्स मेयर कपको आयोजना गर्न लागेका हौँ’ मेयर महर्जनले भने ।