चैत ९, २०७७ सोमबार

एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले रियल सोसिडाडमाथि फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले सोसिडाडमाथि ६–१ गोलान्तरको जित निकालेको हो ।

सोसिडाडको मैदानमा भएको खेलमा पाहुना टोली बार्सिलोनालाई जिताउन कप्तान लियोनल मेस्सी र सर्जियो डेस्टले २/२ गोल गर्दा एन्टोइन ग्रिजम्यान र ओस्मान डेम्बेलेले समान १/१ गोल गरे । सोसिडाडका एन्डर बर्रेनेटेक्साले सान्त्वना गोल फर्काए ।

खेलको ३७औँ मिनेटमा ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए । ४३औँ मिनेट डेस्टको गोलपछि बार्सिलोना पहिलो हाफभरि २–० गोलले अगाडि रह्यो । ५३औँ मिनेटमा डेस्टले दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता तेब्बर बनाए ।

त्यसको तीन मिनेटपछि मेस्सीले गोल गरे भने ७१औँ मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई ५–० गोलको अग्रता दिलाए । ७७औँ मिनेटमा बार्रेनेटेक्साले सोसिडाडका लागि सात्वना गोल गरे । खेल सकिन एक मिनेट बाँकी छँदा मेस्सीले गोल गर्दै बार्सिलोनालाई ६–१ गोलअन्तरको जित दिलाए ।

उक्त जितसँगै बार्सिलोना साविक विजेता रियल मड्रिडलाई उछिन्दै दोस्रो स्थानमा उक्लिएको छ । उसले २८ खेलमा ६२ अङ्क जोडेको छ । समान खेल खेलेको रियलसँग ६० अङ्क छ । यता पराजित सोसिडाड भने ४५ अङ्कका साथ पाँचौँ स्थानमा छ ।