चैत ९, २०७७ सोमबार

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका नम्बर १ गोलरक्षक किरण चेमजोङले नेपालले आयोजना गर्न लागेको ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिताको कप्तानी गर्ने भएका छन् । 

सोमबार पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले त्रिदेशीय कपको कप्तानी किरणले गर्ने जानकारी दिएका हुन् ।

उनका अनुसार भारतमा व्यवसायिक फुटबल खेलिरहेका किरण त्रिदेशीय कपका लागि आजै स्वदेश फर्किँदैछन् । किरण पञ्जाब क्लबबाट भारतको शीर्ष डिभिजन लिग आइलिग खेलिरहेका थिए । तर अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले किरणलाई त्रिदेशीय कपका लागि नेपाल बोलाउन पञ्जाबसँग कुरा गरेको थियो ।

त्यसबाहेक राष्ट्रिय टोलीमा सहभागी हुनका लागि स्ट्राइकर अभिषेक रिजाल स्वदेश फर्किसकेका छन् । भारतमा व्यवसायिक फुटबल खेलिरहेका अभिषेक त्रिदेशीय कप खेल्नका लागि आइतबार नेपाल फर्किएका हुन् ।

नेपालले चैत  १० देखि १६ चैतसम्म काठमाडौँको दशरथ रङ्गशालामा कीर्गिस्तान र बङ्गलादेशसँग खेल्दैछ । फिफा विश्वकप छनोटका खेल स्थगित भएपछि एन्फाले बङ्गलादेश र कीर्गिस्तानलाई बोलाएर प्रतियोगिता गर्न लागेको हो ।