चैत ९, २०७७ सोमबार

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर सातै प्रदेश पुग्ने भएका छन् । 

नेपाल क्रिकेट सङ्घ (क्यान)ले सुरु गर्न लागेको क्रिकेटलाई स्थानीयस्तरसम्म पुर्‍याउने अभियानका क्रममा प्रशिक्षक ह्वाटमोर सातै प्रदेश पुग्ने भएका हुन् ।

क्रिकेटलाई स्थानीयस्तरसम्म पुर्‍याउनका लागि सुरु हुन लागेको उक्त अभियानअन्तर्गत ह्वाटमोर सात वटै प्रदेश पुग्न लागेका हुन् ।

क्यानका अनुसार प्रदेश १ मा आगामी बुधबारदेखि उक्त अभियानको थालनी हुनेछ । सो अभियानका लागि क्यानले राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय गर्नेछ । अभियानको क्रममा चार दिनसम्म उच्चस्तरीय क्रिकेट क्लिनिक सञ्चालन हुनेछ । जसमा प्रमुख प्रशिक्षक ह्वाटमोरले स्थानीयस्तरका प्रतिभावान खेलाडीसँग साक्षात्कार गर्नेछन् ।

क्यानका अनुसार क्रिकेट प्रशिक्षक पुग्दा स्थानीय खेलाडीमा क्रिकेटप्रति थप जागरुक बन्नेछन् । सँगै स्थानीय प्रशिक्षकले प्रशिक्षणको नयाँ एवम् आधुनिक विधिबारे जानकारी पाउनेछन् ।