काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा सुरु हुन लागेको ‘थ्री नेशन्स कप’ फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । दशरथ रङ्गशालामा हुने त्रिदेशीय कपको उद्घाटन खेलमा बङ्गलादेश र कीर्गिस्तानको यु–२३ टोलीले प्रतिस्पर्धा गर्दैछन् । यो खेल आज साझ ५:३० बजेबाट दशरथ रंगशाला सुरु हुनेछ ।
यस खेलमा दुवै टोली सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् । खेलको पूर्वसन्ध्यामा बोल्दै कीर्गिस्तानका प्रशिक्षक झोल्डोसोब नुर्वेकले यु–२३ टिम भए पनि यो राष्ट्रिय टोली सरह नै बलियो रहेको बताए ।
जसमा कीर्गिस्तानको राष्ट्रिय टिमका दुई सिनियर खेलाडी पनि छन् । प्रशिक्षक नुर्वेकले प्रतियोगिताका लागि राम्रो तयारी गर्न नसके पनि नेपालमा राम्रो फुटबल खेल्ने बताए ।
उनले भने ‘यो युवा खेलाडीका लागि अवसर पनि हो, विशेषरुपमा आयोजक नेपालसँग खेल्न कठिन हुनेछ तर हामी शतप्रतिशित दिएर राम्रो नतिजा ल्याउन प्रयास गर्नेछौँ’, ।
बङ्गलादेशका प्रशिक्षक जेमी डेले नेपालमा दुवै टोलीविरुद्ध खेल्न कठिन हुने बताए । ‘यसपटक हामी ६ जना नयाँ खेलाडीका साथ नेपाल आएका छौँ । विश्वकप छनोट खेलअघि यस प्रतियोगितामा मैले टिममा केही प्रयोग गर्ने हेतुले नयाँ खेलाडीलाई टिममा राखेको छु’, उनले भने ।
फिफा विश्वकप छनोटका खेल स्थगित भएपछि एन्फाले बङ्गलादेश र कीर्गिस्तानलाई बोलाएर प्रतियोगिता गर्न लागेको हो । विश्वकप छनोटअन्तर्गत दशरथ रङ्गशालामा नेपालले अस्ट्रेलिया, चाइनिज ताइपेई र जोर्डनबीचको खेल खेल्न नपाउने भएपछि थ्री नेशन्स कपको आयोजना गर्न लागिएको हो ।
लिग चरणमा तीन खेलपछि शीर्ष दुई स्थानमा रहने टिमबीच चैत १६ गते उपाधि भिडन्त हुनेछ । यी सबै खेल साँझ ५:३० मा सुरु हुनेछन् ।
के कस्तो छ त खेल हेर्न दर्शक लगाए सबैमा नियम ?
- अनिवार्य माक्सको प्रयोग
- अनिवार्य सेनिटाईजको प्रयोग
- भौतिक तथा सामाजिक दुरी कायम गर्न
- तापक्रम नाप्ने