काठमाडौं : नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम् परिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ।
मलेसिया भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह वीन जैनुदिनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्डसहितको अन्य श्रमिकको पारिश्रमिक, सेवा तथा सुविधा वृद्धि गर्न प्रस्ताव गरेका हुन्।
भेटमा मन्त्री श्रेष्ठले नेपाली सुरक्षा गार्डको मासिक पारिश्रमिक तीन हजार रिङ्गेट पुर्याउन प्रस्ताव गरेका थिए। यो भनेको नेपाली रुपैयाँ झण्डै ८५ हजार हो। नेपाली टोलीले मासिक ८५ हजारदेखि एक लाखसम्म तलब नेपाली कामदारले पाउनुपर्ने प्रस्ताव गरेको हो। नेपाली कामदार मेहनती र इमान्दार हुने चर्चा गर्दै गृहमन्त्री जैनुदिनले गोर्खा गार्ड्सका रूपमा मलेसियामा नेपालीहरूको राम्रो प्रभाव रहेको र सेवासुविधा वृद्धिको प्रस्तावलाई अगाडि बढाउने बताएका थिए।
सो क्रममा उनीहरुबीच नेपालमा सुरक्षा गार्डसम्बन्धी तालिमको व्यवस्था गरी नेपाली युवालाई सीपयुक्त बनाइ थप रोजगारीका अवसर प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, चौबिस घण्टे बीमा सुविधाको व्यवस्थाबारे छलफल भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए।
अर्यालकाअनुसार छलफलमा भएका विषयलाई औपचारिकता दिन छिट्टै द्विपक्षीय समझदारी हुने छ।
यसअघि मन्त्री श्रेष्ठले समकक्षी सेरी एम सराभननसँग गरेको द्विपक्षीय बैठकमा श्रम सम्झौतालाई प्रभावकारी कार्यान्वयन गर्ने सहमति भएको थियो। साथै नेपाल र मलेसियाबीच संयूक्त कार्यदलको तेस्रो बैठक छिटै काठमाडौंमा गर्ने सहमति पनि भएको छ।