काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर यतिबेला प्रदेश नम्बर एकको राजधानी विराटनगर पुगेका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजना र राष्ट्रिय खेलकुद परिषद् पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, प्रादेशिक क्रिकेट सङ्घ, प्रदेश एक र मोरङ जिल्ला क्रिकेट सङ्घको सहकार्यमा आयोजना गरिएको ‘नेपाल आउटरिच प्रोगाम’मा सहभागिताका लागि उनी विराटनगर पुगेका हुन् । उनले प्रदेश एकमा रहेका प्रशिक्षक, महिला तथा पुरुष राष्ट्रिय खेलाडी, प्रदेश, जिल्ला, एकेडेमी र विद्यालयका खेलाडीहरूलाई प्रशिक्षण दिनेछन् ।
करिब चार दिनसम्म आयोजना हुने प्रशिक्षण अन्तर्गत बुधबार बिहान प्रदेश एकभरिका प्रशिक्षक र अफिसियलहरूलाई ह्वाटमोरले विशेष प्रशिक्षण दिएका थिए । यस्तै, वर्कशपअन्तर्गत वाटमोर र सहभागी प्रशिक्षक, अफिसियलहरूबीच अनुभव आदान–प्रदानसमेत गरिएको थियो ।
वर्कशपअन्तर्गत आज नै ह्वाटमोरले वैजनाथपुरस्थित क्रिकेट रङ्गशालामा प्रदेश एकभरिका विभिन्न विद्यालयहरूका विद्यार्थीहरूको खेल–कौशल हेर्ने, विशेष प्रतिभा भएका खेलाडीहरूलाई छनोट गर्ने र प्रशिक्षण दिने कार्य तालिमका समेत रहेको छ ।