बेलायतमा स्थानीय काउन्सिलबाट उम्मेदवार बनेका नेपाली मूलका ११ जना उम्मेदवारमध्ये ५ जना विजयी भएका छन् ।
लेबर पार्टीबाट लन्डनको हन्सलो बरोबाट उम्मेदवार बनेका विष्णुबहादुर गुरूङ १ हजार ३७ मत प्राप्त गरी तेस्रो पटक काउन्सिलरमा निर्वाचित भएका छन् ।
यस्तै, सत्तारूढ कञ्जरभेटिभ पार्टीबाट बार्नेटको एजवेरवरी वडामा उम्मेदवार बनेका काउन्सिलका पूर्व उपमेयर लक्ष्यबहादुर गुरूङ पुनः काउन्सिलर निर्वाचित भएका छन्। गुरूङ १ हजार ६ सय ९१ मत प्राप्त गरी विजयी भएका हुन्।
लन्डन बार्नेट काउन्सिलकै बन्टओक वडाबाट भूतपूर्व गोर्खा कमलबहादुर गुरूङ पहिलोपटक काउन्सिलर निर्वाचित भएका छन्।
लेबर पार्टीका उम्मेदवार उनले २ हजार ७७ मत प्राप्त गर्दै विजय हासिल गरे। सो वडाको अर्को काउन्सिलरमा २ हजार ५ सय ४५ मतसहित लेबर पार्टीकै उम्मेदवार विजयी भए।
साथै, बेलायतको रोयल बरोबाट पहिलो पटक नेपाली मूलका उम्मेदवार काउन्सिलर निर्वाचित भएका छन् ।
रोयल बरो अफ ग्रीनवीचको प्लमस्टिड एण्ड ग्लिन्डन वडामा लेबर पार्टीबाट उम्मेदवार जीत रानाभाट विजयी भएका हुन् ।
उक्त वडामा तीन काउन्सिलरका लागि दश उम्मेदवारबीच भएको प्रतिस्पर्धामा रानाभाटसँगै अन्य दुई पनि लेबर पार्टीकै उम्मेदवार विजयी भएका छन् ।
इंग्ल्याण्डस्थित नर्थ योर्कसायर काउन्टी काउन्सिलमा नेपालीमूलबाट पहिलोपटक प्रतिष्पर्धा गरेका डा. जगन्नाथ शर्मा ८ मतले पराजित भए ।
कन्जरभेटिभ पार्टीका उनले ५ सय ५१ मत प्राप्त गरेका थिए । ग्रीन पार्टीका केभिन फोस्टर ५ सय ५९ मतसहित विजयी भए ।
कोलबर्न टाउनका पूर्व मेयर एवं काउन्सिलर शर्मा दुई तिहाइ मत पाएर कोलबर्न एन्ड हिप्सवेल काउन्सिलर भने निर्वाचित भए।
यसपटकको निर्वाचनमा नेपाली मूलका आधा दर्जन उम्मेदवार भने पराजित भएका छन्। वकिङ बरोमा पूर्व गोर्खा मेजर चित्रबहादुर राना पराजित भएका छन्। कञ्जरभेटिभ पार्टीबाट यसअघि तीन पटक काउन्सिलर निर्वाचित उनी चौंथो पटक असफल भए।
रसमोर बरोको चेरीउड वडामा कञ्जरभेटिभ पार्टीबाट पहिलोपटक उम्मेदवार बनेकी सुमन पुन ७ सय ३० मत ल्याएर पराजित भइन्। उनका प्रतिस्पर्धी लेबर पार्टीका उम्मेदवारले १ हजार ८ मतसहित विजयी भए।
त्यस्तै, बेडवर्थ एण्ड ननिटन बरोमा पहिलो पटक काउन्सिलर पदमा निर्वाचन लडेका पूर्व गोर्खा भीम सारू पनि पराजित भए। लेबर पार्टीका उम्मेदवार सारूले ५ सय ६६ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी कञ्जरभेटिभ पार्टीका उम्मेदवार ६ सय ५२ मतसहित निर्वाचित भए।
उता, स्वीण्डनको मेनिङटन एण्ड वेस्टर्नमा पहिलोपटक उम्मेदवार बनेका पूर्व गोर्खा ज्ञानप्रसाद गुरुङ पनि जितबाट चुकेका छन्। कञ्जरभेटिभ पार्टीका उम्मेदवार गुरुङले ६ सय ६५ मत पाउँदा विजयी लेबर पार्टीका उम्मेदवारले १३ सय ६४ मत पाए ।
लन्डनको वाटफोर्डमा सञ्जय पन्त काउन्सिलरमा पराजित भएका छन्।
वाटफोर्ड बरोको होलीवेल वडामा कञ्जरभेटिभ पार्टीबाट पहिलोपटक उम्मेदवार बनेका पन्त ४ सय २६ मत प्राप्त गरी पराजित भएका हुन् । विजयी लेबर उम्मेदवारले ९ सय ४९ मत प्राप्त गरेका छन् ।
उता, एनआरएनए यूकेकी पूर्व अध्यक्ष पुनम गुरुङ पनि पराजित भएकी छन्। उनी कञ्जरभेटिभ पार्टीबाट बेजिङस्टोक तथा डीन काउन्सिलको ब्राइटन हिल वडामा उम्मेदवार रहेकी थिइन्।
गुरूङ ५३७ मतका साथ तेस्रो स्थानमा रहिन्। सो वडामा लिबरल डेमोक्र्याटिक पार्टीका उम्मेदवार करेन एन्ड्रिया बावेसले ९३७ मत ल्याई विजय हासिल गरेकी छिन्।
नेपालीहरु पछिल्लो समय स्थानीय निकायमा आकर्षित भए पनि संसदीय निर्वाचनसम्म भने पुग्न सकेका छैनन्।
यसपटकको निर्वाचनमा सत्तारूढ कन्जरभेटिभ पार्टीले नराम्रोसँग हार बेहोरेको छ ।