काठमाडौ : अखिल नेपाल फुटबल संघ एन्फाको आयोजना जारी थ्री नेशन्स कप अन्तर्गतको दोस्रो खेल तथा नेपालको पहिलो खेलमा नेपाली राष्ट्रिय फुटबल टाेली किर्गिस्तानको यु २३ टोलीसँग गोलरहित बराबरीमा राेकिएकाे छ ।
बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपालले पाएका थुप्रै अवसरमा गोल गर्न चुँक्दा नेपाल एक खेल अगावै फाइनलमा स्थान बनाउन असफल भएको हो ।
सुरूवाती अवस्थादेखि नै दबावमा रहेकाे किर्गिस्तान खेलको ६६ औं मिनेटमा १० खेलाडीमा सिमित भएको थियो । अभिषेक रिजाललाई लडाएपछि कप्तान तासिभ कामोलिदिन दोहोरो पहेलो कार्ड पाउँदै मैदान बाहिर गएका थिए । १० खेलाडीमा सिमित भएपछि पाएकाे अवसरहरू पनि नेपाली खेलाडीले सदुपयाेग गर्न सकेनन् ।
नेपालले दोस्रो खेल बंगलादेशसँग खेल्नेछ । बंगलादेश फाइनलमा प्रवेश गरिसकेकाे छ । नेपाल र किर्गिस्तानको समान १ अंक बाढ्दा किर्गिस्तानलाई पराजित गरेको बंगलादेशसँग ३ अंक छ । नेपालले लिगको अन्तिम खेलमा बंगलादेशसँग बराबरीमा रोकिएपनि फाइनल मा पुग्नेछ । नेपाल पराजित भएको अवस्थामा किर्गिस्तान फाइनल पुग्नेछ ।