चैत १५, २०७७ आइतबार

एजेन्सी : सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोटअन्तर्गतको आफ्नो दोस्रो खेलमा पोर्चुगल बराबरी खेल्दै अंक बाँडेको छ । 

शनिबार राति भएको युरोपियन छनोटमा पोर्चुगलले घरेलु टोली सर्बियासँग २–२ गोलको बराबरी खेलेको हो । सर्बियास्थित रेड स्टार स्टेडियममा भएको खेलमा पोर्चुगलले सुरुवाती अग्रता बनाएको थियो । जारी ११औँ मिनेटमा डिएगो जोटाले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाए । त्यस्तै ३६औँ मिनेटमा उनले व्यक्तिगत तथा टोलीको लागि पनि दोस्रो गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २-० गोलको अग्रता बनाएको पोर्चुगलले खेलको ४६औँ मिनेटमा गोल खाएको थियो ।एलेक्जेन्डर मित्रोभिकले गोल गर्दै सर्बियालाई बराबरीमा फर्काउने प्रयास गरे । ६०औँ मिनेटमा फिलिफ कोस्टिकले गोल गरेपछि घरेलु टोली बराबरीमा फर्कियो ।

खेलको इन्ज्युरी समयमा निको मिलेनकोभिले रातो कार्ड पाएपछि सर्बिया दस खेलाडीमा सीमित बनेको थियो ।

त्यस्तै खेलको इन्ज्युरी समयमा रोनाल्डोले गोल गरेता पनि उक्त गोलले मान्यता भने पाएन । सर्बियाका गोलरक्षक मार्को मित्रोभिक अगाडि बढेको अवस्थामा रोनाल्डोले गरेको प्रहार पोस्टभित्र प्रवेश गरिसकेको थियो । त्यसैबेला सर्बियाका डिफेन्डर स्टेफान मिलिनकोभिकले स्लाइड गर्दै बल क्लियर गरे ।

तर, पछि रिप्ले हेर्दा गोल भएको स्पष्ट थियो । तर, गोल नदिएपछि रोनाल्डो रिसे चुर भएका थिए । उनले आफ्नो रिस हातको हाउहाउमार्फत पोखेका थिए । यसैले रेफ्रीले रोनाल्डोलाई पहेँलो कार्ड दिएका थिए ।

उक्त यस बराबरीसँगै समूह ‘ए’का सर्बिया र पोर्चुगलले बराबरी अङ्क बनाए । शीर्ष स्थानको सर्बिया र दोस्रो स्थानको पोर्चुगलसँग समान ४/४ अङ्क छ । गोलान्तरको आधारमा सर्बिया अगाडि छ ।