चैत १५, २०७७ आइतबार

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ हिरो इण्डियन लिग (आई लिग) मा सिजन २०२०–२१ को उत्कृष्ट गोलरक्षक चुनिएका छन् ।

राउण्डग्लास पञ्जाब एफसीका लागि खेलेका किरण चेम्जोङ उत्कृष्ट गोलरक्षक चुनिए वापत उनले गोल्डेन ग्लोब्स हात पारे । लिग अवधिभर कुल तीन पल्ट हिरो अफ द म्याच समेत चुनिएका किरणले सर्वाधिक ७ क्लिन शिट आफ्नो नाममा पारेका थिए ।

यसपटक लिगको च्याम्पियनसिप स्टेजमा पुगेर लिग उपाधिका लागि समेत भिडेको किरणको टोली पञ्जाब शिर्ष ६ टोलीहरुमध्ये १५ खेलबाट २२ अंक जोड्दै चौथो स्थानमा रह्यो ।

लिग च्याम्पियन भने २९ अंक जोडेको गोकुलम केरला एफसी बन्यो । साथै केरला आगामी सिजनको प्रतिष्ठित एएफसी कपको समूह चरणमा खेल्नका लागि समेत छनौट भयो । समान २९ अंक भए तापनि चर्चिल ब्रदर्श भने दोस्रो स्थानमा रहेर उपविजेता बन्न बाध्य भयो ।