काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा आज हुदैछ ।
फाईनल खेलमा आयोजक राष्ट्र नेपाल र पाहुना टोली बंगलादेश बिच साँझ ५:३० बाट त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा खेल हुनेछ।
खेल अघि आयोजित पत्रकार सम्मेलनमा बोल्दै दुवै टोलीका कप्तान तथा प्रशिक्षकले लक्ष्य उपाधी नै रहेको बताएका छन्।
आइतबार भएको प्रि-म्याच कन्फरेन्समा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने, 'हामीले दुई खेल खेल्यौं । प्रदर्शन राम्रै गरेका छन् । सोचेअनुसार खेलेका छौँ । तर, गोल गरिरहेका छैनौँ,' महर्जनले भने, 'फाईनल खेलमा हाम्रो लक्ष्य भनेकै गोल गर्दै नतिजा निकाल्नु हुनेछ ।'
लिग चरणको अन्तिम खेलमा प्रतिस्पर्धा गरेका नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए ।
नेपाली टिमका कप्तान किरण चेम्जोङले उपाधि दिलाउन आफु उत्सुक रहेको बताए ।
'सबै कप्तानलाई आफ्नो कप्तानीमा उपाधि जित्दा सुखी लाग्छ । आफ्नो कप्तानीमा उपाधि दिलाउन म पनि उत्सुक छु,' उनले सो कन्फरेन्समा बताए।
बंगलादेशका मुख्य प्रशिक्षक जेम्स डेले फाइनल खेल प्रतिस्पर्धात्मक हुने दाबी गर्छन । ’यस खेल निकै प्रतिस्पर्धात्मक हुनेछ । घरेलु टोलिलाई दर्शकको समर्थन छ । हामी फाइनलमा पुग्यो यो नै ठुलो विषय हो,' उनले भने ।
बंगलादेशका कप्तान जमल भुयाले टिमलाई उपाधि जित्नका लागि सुनौलो मौका रहेको बताए ।