आन्तरिक उडानमा जहाजको इनरुटको मौसम सम्बन्धी निर्णय गर्ने अधिकार विमानस्थलले मात्रै गर्ने भएको छ । हालसम्म पाइलट इन कमान्डमा रहेको अधिकार अब विमानस्थलमा मात्रै सीमित गर्ने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए ।
‘यो निर्णयपछि अब जहाजको रुटको मौसम सम्बन्धी निर्णय विमानस्थलबाट मात्रै हुनेछ । हाल क्याप्टेनले मात्रै गर्न सक्ने यस्तो निर्णय अब हरेक विमानस्थलले नै गरेर उडान अनुमति दिनेछ,’ उनले भने, ‘प्राधिकरणको यो निर्णयपछि मौसम पूर्णतः सफा भएको यकिन गरेर विमानस्थलले अनुमति नदिएसम्म कुनै पनि आन्तरिक उडान हुँदैन ।’
तारा एयरको विमान दुर्घटनापछि यो कडाइ गरिएको हो।
००००
मौसम पूर्वसूचना प्रणालीको आधारमा विमान उडान नगरे देशले ठूलो दुर्घटना भोग्नुपर्ने विज्ञहरुले चेतावनी दिएका छन् । जेठ १५ गते भएको तारा एयरको विमान दुर्घटना खराब मौसम हुँदाहुँदै उडान भरेको भन्ने तथ्यहरु सार्वजनिक भइरहेको र विगतका केही विमान दुर्घटना पनि पूर्वानुमान विपरित उडान गर्दा दुर्घटना भएको भन्दै विज्ञहरुले सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।
जलवायु तथा विपद् विज्ञ डा धर्मराज उप्रेतीले कुनैपनि विमानहरु थ्रेसहोल्डमा चल्छन् वा चल्दैनन् भन्ने कुरा राष्ट्रियरुपमा अनुगमन गर्न आवश्यक रहेको बताए ।
००००
यसैगरी विमानको ककपिट भ्वाइस रेकर्डर (ब्ल्याक बक्स) भेटिएको छ । दुर्घटनास्थल थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा ब्ल्याक बक्स भेटिएको त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले बताए ।
००००
यसैबीच तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका २२ जनाकै शव काठमाडौं ल्याइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानमा ज्यान गुमाएका १० जनाको शव सोमवार साँझ ल्याइएको थियो भने बाँकी रहेका १२ जनाको शव अहिले नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो ।
उनका अनुसार काठमाडौं ल्याएका शवहरू त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । २२ वटै शवलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
००००
प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० बढुवाविरुद्धको मुद्दामा सर्वोच्च अदालतले म्याद तामेल गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा कुमार चुडालको इजलासले प्रत्यर्थीहरू वसन्तकुमार पन्त ९रिटायर्ड एआईजी०, धिरजप्रताप सिंह ९हाल आईजीपी० र रविन्द्रबहादुर धानुक ९एआईजी०को नाममा म्याद तामेल नभएकाले म्याद तामेल गर्न आदेश दिएको हो । सिंह अहिले नेपाल प्रहरीको आईजीपी बनिसकेका छन् भने पन्त एआईजीबाटै रिटायर्ड भइसकेका छन् ।
००००
शेयर बजार आगामी आर्थिक वर्षको बजेटले पनि बढाउन सकेन । बजेट आएपछिको दुई दिनसम्म लगातार शेयर बजार घटिरहेको छ ।
सोमवार ५० अंकले घटेको शेयर बजार मंगलबार पनि ३५.५३ अंकले घटेर २१ सय ३७.९२ विन्दुमा आइपुगेको छ । बजेटपछि लगातार घटेको शेयर बजारले लगानीकर्तालाई उत्साहित बनाउन नसकेको देखिएको छ ।
००००
मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरूङमा पानी पठाउन बन्द गरिएको छ । मेलम्चीको अम्बाथानमा रहेको सुरूङको मुख्य ढोका मंगलवार बिहानबाट बन्द गरेर पानी पठाउन बन्द गरिएको हो ।
अब सुरूङको उक्त ढोका हिउँदमा मात्रै खुल्ने मेलम्ची खानेपानी आयोजनाले बताएको छ । पानी पर्ने क्रम बढेको र सुरूङमा धमिलो पानी प्रवेश हुन थालेकाले वर्षा याम भरी सुरूङमा पानी हाल्न बन्द गरिने मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र प्रसाद पन्तले बताए ।
००००
सरकारले आइतवार संसद्मा पेश गरेको राजश्व र व्ययको वार्षिक बजेटमाथि मंगलबारदेखि प्रतिनिधि सभामा सैद्धान्तिक छलफल सुरु भएको छ । सामान्य छलफल सकिएपछि विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्मा १७ खर्ब ९३ अर्ब बराबरको बजेट पेश गरेका थिए ।
००००
निजामति कर्मचारी अस्पताललाई ‘रिफर अस्पताल’ का रूपमा विकास गर्ने तयारी गरिएको छ । अस्पतालले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा विधाननिधि पौडेलले अस्पताललाई ‘रिफर अस्पताल’ का रूपमा विकास गर्न थालिएको जानकारी दिएका हुन् ।
अस्पतालको सेवा सुविधालाई सातवटै प्रदेशमा विस्तार गरेर निजामती अस्पताललाई रिफर अस्पतालका रूपमा विकास गर्ने तयारी रहेको छ ।
००००
प्रधान सेनापति प्रभुराम शर्माले द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ तैनाथ फौजको हौसला अभिवृद्धि गर्न तथा विभिन्न यूएन मिसनहरूको विविध पक्षहरू एवं भावी योजनाबारे जानकारी हासिल गर्ने उद्देश्यले विभिन्न मुलुकको भ्रमण गर्ने भएका छन् ।
उनले आगामी असार ४ देखि १० गतेसम्म संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरू तैनाथ लेबनान र सिरियास्थित मिसनको निरीक्षण भ्रमण गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
००००
रुपन्देहीको नापी कार्यालय भैरहवामा कार्यरत अमिन टेकबहादुर रायमाझी ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज उनलाई घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।