काठमाडौँ, ३१ वैशाख : नेपाललाई विश्वस्तरीय आरोग्य (वेलनेश) पर्यटन गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपाल पर्यटन बोर्डमा आज आयोजित ‘वेलनेस पर्यटन’ विषयक अन्तक्र्रियामा नेपाललाई विश्वस्तरीय वेलनेस पर्यटन गन्तव्यका रुपमा विकास गर्न मौलिकता, संस्कृति, प्रकृति र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको हो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले सरकारले वेलनेस पर्यटन रणनीति कार्यान्वयन गरिरहेको बताउनुभयो । उहाँले सन् २०२७ लाई वेलनेस पर्यटन वर्षका रुपमा घोषणा गरिसकेकाले अन्तरक्रियाले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
“आजको प्रस्तुति र अन्तरक्रियाबाट प्राप्त मूल्यवान् सुझावले आगामी योजना निर्माणमा सहयोग पुर्याउने विश्वास लिएको छु”, उहाँले भन्नुभयो । नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले विश्वव्यापी वेलनेस यात्राका लागि नेपाल प्राकृतिक रूपमा अनुपम गन्तव्य भएको बताउनुभयो ।
“नेपालले प्रकृति, संस्कृति र साहसिक अनुभवमार्फत विश्वलाई प्रेरणा दिनसक्छ, नेपालको संस्कृति र प्रकृति नै आरोग्य पर्यटनका लागि उत्कृष्ट स्रोतहरु हुन्”, उहाँले भन्नुभयो ।
कार्यक्रममा हङ्कङ पोलिटेक्निक विश्वविद्यालयअन्तर्गतको स्कुल अफ होटल एण्ड टुरिजम म्यानेजमेन्टका सहायक डिन प्रा डा डेनिज क्युचकुस्ताले विश्वभरका पर्यटक अहिले उपचार, आत्मिक सन्तुलन र अर्थपूर्ण अनुभवको खोजीमा यात्रा गरिरहेको भन्दै नेपाल वेलनेस पर्यटनको नेतृत्व गर्न प्राकृतिक रूपमा सक्षम रहेको बताउनुभयो ।
“नेपालले वेलनेस आविष्कार गर्न आवश्यक छैन, यसलाई व्यवस्थित मात्र गर्नुपर्नेछ”, उहाँले भन्नुभयो । योग गुरु डा प्रकाश आचार्यले योग केवल व्यायाममात्र नभई समग्र जीवनशैली भएको बताउनुभयो । सो अन्तरक्रियाको सुरुआत ध्वनी चिकित्सा सत्रबाट गरिएको थियो ।
---