सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित सप्तकोसी नदीको खयर टापुबाट सशस्त्र प्रहरीले तस्करी गरेर ल्याइएको ३ सय ५० किलोग्राम गाँजा बरामद गरेको छ।
सप्तकोसी नदीहुँदै तस्करी गरेर ल्याइएको लागूऔषध गाँजा ११ वटा बोराभित्र प्याक गरी बालुवाले छोपेर राखेको अवस्थामा बरामद गरिएको सशस्त्र प्रहरी बल सुनसरीका प्रमुख एसपी विक्रम होमागाईंले जानकारी दिए। उनका अनुसार पूर्वी पहाडी जिल्लामा अवैध खेती गरेर उत्पादन गरिएको गाँजा जलमार्ग हुँदै भारततिर कटाउन खोजिएको हुनसक्ने आशंका छ।
नदीको एउटा भंगालो पारिपट्टि तस्करीको गाँजा लुकाएर राखिएको विशेष सूचना बिहान ६ बजेतिर आएको एसपी होमागाईंले बताए। त्यसलगत्तै गाँजा नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी कमल गिरीले विशेष टोली परिचालन गरेका थिए। सशस्त्र प्रहरी निरीक्षक निगम राई नेतृत्वको टोलीले बिहान ९:४० बजेतिर नदीको भंगालोबीचको टापुमा गाँजा फेला पारेको हो।
उक्त गाँजा नदीको भंगालो कटाएर ल्याउनका लागि पौडीबाज सशस्त्र प्रहरी खटाइएको थियो। बरामद गरिएको गाँजा सशस्त्र प्रहरीका अर्का निरीक्षक भूपेन्द्र बस्नेतको नेतृत्वमा डुंगासहित गएको ११ जनाको विपद् उद्धार टोलीले जोखिम मोलेर नदीको भंगालो कटाउँदै ल्याएको हो।
तस्करीमा संलग्न गिरोहले सवारीसाधनको प्रयोग गरेर गाँजाको ओसारपसार गरिरहेका थिए। तस्करीको रुट पहिल्याएर कडाइ गर्न थालिएपछि जलमार्ग हुँदै गिरोहले गाँजाको अवैध धन्दा चलाइरहेको पुष्टि भएको सशस्त्र प्रहरीले जनाएको छ।
गाँजा तस्करी रोक्न सशस्त्र प्रहरीले प्रदेश १ मा विशेष अभियान चलाइरहेको जानकारी उनले दिए। रातको समयमा बाँस र ट्याक्टरको ट्युब प्रयोग गरेर जलमार्गबाट गाँजा ओसारपसार गर्न थालिएको हुनसक्ने सशस्त्रको भनाइ छ। सशस्त्रका अनुसार भोजपुर, धनकुटासमेतका पहाडी जिल्लामा अवैध खेती गरेर उत्पादन गरिने गाँजा सुरक्षाकर्मीलाई छल्नका लागि जलमार्गबाट तस्करी गर्न थालिएको पाइयो।
लागूऔषध ओसारपसार लगायतका अवैध धन्दा नियन्त्रणमा लिनलाई सम्भावित स्थानमा विशेष निगरानी बढाउन निर्देशन दिएर डीआईजी गिरीले सशस्त्र प्रहरीको विशेष टोली परिचालन गरेका छन्। सबै ठाउँमा निगरानी बढाउँदै अवैध धन्दा नियन्त्रण गर्नका लागि सशस्त्रलाई २४ घण्टा नै तैनाथ गरिएको गिरीले बताए।