एजेन्सी : सन २०२२ मा कतारमा हुने फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटतर्फको आफ्नो दोस्रो खेलमा स्पेनले जर्जियामाथि कठिन जित दर्ता गरेको छ ।
आइतबार राति भएको खेलमा स्पेनले जर्जियालाई उसैको मैदानमा २-१ गोलले पराजित गरेको हो ।
खेलमा सुरुवाती अग्रता भने जर्जियाले बनाएको थियो । खेलको ४३औँ मिनेटमा खभिचा कभरात्सेलियाले गोल गर्दै जर्जियालाई पहिलो हाफभरि १-० गोलको अग्रता दिलाएका थिए ।
त्यस्तै दोस्रो हाफको खेलको ५६औँ मिनेटमा फेर्रान टोरेसले गोल गर्दै स्पेनलाई खेलमा फर्काए । त्यसपछि खेलको इन्ज्युरी समयमा डेनी ओल्मोले गोल गर्दै स्पेनलाई पुनरागमन जित दिलाए । उक्त गोल गरेको दुई मिनेटपछि घरेलु टोली दस खेलाडीमा सीमित बनेको थियो । उसका खेलाडी लेभान शेनगेलियाले रातो कार्ड पाएका थिए ।
उक्त जितसँगै समूह ‘बी’को दोस्रो स्थानको स्पेनले २ खेलबाट ४ अङ्क जोडेको छ । यता पराजित जर्जिया भने अङ्कविहीन हुदै चौथो स्थानमा छ ।