काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक मानिएको रगतको मूल्य समायोजन गरिएको जनाएको छ। गत बुधबार सबै रक्तसञ्चार केन्द्रहरूलाई नयाँ मूल्यबारे पत्र पठाउँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले प्रतियुनिट रगत सेवा शुल्क ८१० देखि अधिकतम १ हजार ६४० सम्म कायम गरेको जानकारी गराएको छ। यसअघि प्रतियुनिट रगतको मूल्य ५२५ रुपैयाँ थियो।
गत चैत २२ गते सचिवस्तरीय निर्णयबाट रगतको मूल्य बढाइएको हो। सो मूल्यमा ब्लड व्यागको १५०, ट्रान्सफ्युजन सेटको एक सय कायम गरिएको छ। यस्तै, डोनर हेमोग्लोवीनको ६० रुपैंया, डोनर रिफ्रेसमेन्टको १०० रुपैंया कायम गरिएको छ।
नेपाल स्वयंसेवी रक्तदाता समाजले दानमा आएको रगत नि:शुल्क बनाउनुपर्नेमा मूल्य बढाएको भन्दै विरोध गरेको छ। प्रयोगशाला निर्देशक डा. रुणा झाले सचिवस्तरीय निर्णयअनुसार भ्यारीयबल्स र प्रयोग गरेका प्रविधिबमोजिम सेवा शुल्क समायोजन गरिएको बताइन्।
देशभर ७३ वटा ब्लड बैंक रहेका छन्। यद्यपी अधिकांश ब्लड बैंकहरूमा रगत संकलन हुन हम्मे हम्मे पर्दै आएको छ।
दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला विरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक अपरेसन गर्नुपर्ने विरामीहरूका आफन्तहरूलाई रगत पाउन निकै सकस हुन्छ।
चिकित्सकहरूका अनुसार स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन्।
रगतमा हेमोग्लोबिनको मात्रा १२ ग्राम प्रतिशत वा सोभन्दामाथि, शरीरमा रक्तचाप, नाडी, तापक्रम सामान्य भएको स्वास्थ्य परीक्षणबाट मुटु, फोक्सो र कलेजो राम्रो रहेको हुनुपर्छ। मलेरिया, क्षयरोग, जन्डिस, मधुमेह, यौनरोग तथा एचआईभी र एड्स नलागेको व्यक्तिले रक्तदान गर्न सक्छन्। गर्भवती र महिनावारीको समयमा रक्तदान गर्नुहुँदैन।