चैत १६, २०७७ सोमबार

तस्बिर - एन्फा

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जनले त्रिदेशीय फुटबलपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । पछिल्लो समय राष्ट्रिय टोलीमा पर्न असफल भएका विराजले घरेलु मैदान र दर्शकको अगाडि खेल्दै सन्यास लिन गर्न लागेका हुन् ।

सोमबार साझ दशरथ रंगशालामा सम्पन्न थ्री नेशन्स कपकाे फाइनल खेलको दोस्रो हाफको ८९औ मिनेट त्रिदेब गुरुङको स्थानमा मैदान प्रवेश गरेका थिए । उक्त खेलमा नेपालले बंगलादेशमाथि २-१ गोलको जित निकालेको थियो ।

विराजको अन्तर्राष्ट्रिय खेल करिअर

- सन् २००८ मा पाकिस्तानविरुद्ध पोखरामा भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीको यात्रा सुरुवात गरेका विराजले देशका लागि सर्वाधिक ७३ खेल खेलेका छन् । उनी राष्ट्रिय टोलीका सफल कप्तान मध्येका एक हुन् । काठमाडौंका विराजकै कप्तानीमा २०७२ सालमा बंगलादेशमा भएको बंगबन्धु गोल्ड कप जितेको थियो ।

उक्त वर्ष भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्दा पनि विराज कप्तान थिए । त्यो यू २३ को टोली भएपनि सिनियर ३ खेलाडी राख्न पाउने प्रावधान अनुसार विराजले त्यसको कप्तानीको अवसर पाएको थियो । २०७३ मा मलेसियामा भएको एएफसी सोलिडारिटी कप जित्दा विराज नियमित उपकप्तान थिए । नेपालले सोलिडारिटीको फाइनल उनकै कप्तानीमा खेलेको थियो ।

विराज घरेलु फुटबलमा पनि सफल खेलाडी हुन् । उनले तीन अलग क्लब थ्री स्टार क्लब, मनाङ मस्र्याङ्दी र मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग उपाधि जितेका छन् ।

दशरथ रंगशालामा तय विश्व कप छनोट खेल्दै सन्यास लिने उनको योजना भने पूरा हुन सकेन । कोभिडका कारण नेपालले विश्वकप छनोटअन्तर्गत अष्ट्रेलिया र चाइनिज ताइपेविरुद्धको दशरथ रंगशालामा हुने भनिएको खेल अन्यत्रै सरेपछि विराजले थ्री नेशन्स कपबाट सन्यास लिने निर्णय गरेका हुन्।

विश्व कप छनोट नहुने भएपछि अखिल नेपाल फुटबल संघ( एन्फा) ले थ्री नेसन्स कप आयोजना गरहेको हो । विराजले यसैलाई उपयुक्त समय ठानेर व्यवस्थापन र एन्फासँग सुखद विदाईका लागि उनले आग्रह समेत गरेका थिए । त्यहि अनुसार उनलाई टोलीमा राखिएको विश्वास गरिएको छ ।