बञ्चरेडाँडामा बुधबार स्थानीयले अवरोध गरेपछि प्रहरी नै परिचालन गरी फोहोरको टिपर लगिएको थियो। तर स्थानीयले लगातार अवरोध पुर्याएपछि फोहोरको टिपर फर्किएको छ।
अहिले फोहोर फाल्ने टिपरहरू फर्किएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए।
उनका अनुसार प्रहरीले तीन सेल अश्रुग्यास पनि प्रहार गरेको छ। यस्तै, प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको उनले दाबी गरे।
यता प्रहरीले भने चार जनालाई नियन्त्रणमा लिएको बताएको छ।
बुधबार बञ्चरेडाँडामा फोहोर फाल्नका लागि काठमाडौंबाट दुई सय बढी प्रहरी खटिएका छन्। त्यस्तै सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ।
स्थानीयले पनि प्रहरीमाथि ढुंगामुढा गरेका छन्।
यस्तै स्थानीयहरू बञ्चरेडाँडामा कुनै हालतमा फोहोर फाल्न नदिने पक्षमा रहेको ढुंगानाले बताए।
बञ्चरेडाँडामा खटिएका एक प्रहरीका अनुसार फोहोर बोकेका गाडी चालकहरू आफैँ फर्किन लागेका हुन्।
‘गाडीमा क्षति पुग्छ भन्ने हिसाबले उनीहरू फर्किन लागेका हुन्,’ ती प्रहरीले भने।