जेठ २६, २०७९ बिहिबार

नेपालमार्ग डेस्क, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदरभन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । पूर्वी भेगबाट १ हप्ताअघि नै नेपालमा मनसुन भित्रिसकेको छ ।

यस वर्ष प्रदेश १ को हिमाली भू-भागबाहेकका स्थान र काठमाडौँबाट पश्चिमका क्षेत्रमा अत्यधिक वर्षा हुने मौसमविद्को आकलन छ ।

यसवर्ष औसतभन्दा धेरै वर्षा हुने र मनसुनजन्य विपत्बाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने बताउँदै यसको पूर्वका लागि मौसमविद्ले सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

जलवायु तथा विपत् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले यसवर्ष प्रदेश १ को हिमाली भू-भाग र मधेश प्रदेशका केही भूभागबाहेक अन्य बाँकी भू-भागमा सरदरभन्दा बढी वर्षा हुने भएकाले बेलैमा सजग हुनुपर्ने बताएका छन् ।

उनले विशेषगरी काठमाडौँबाट पश्चिमका क्षेत्रहरूमा बढी पानी पर्ने भएको भन्दै सरकारले त्यसअनुसार पूर्वतयारी थाल्नुपर्ने बताए ।

हरेक जिल्लामा पूर्वसूचना प्रणालीको विकास गरेर र सुरक्षा निकायलाई सजग गराएर राख्नुपर्ने अवस्थाको थालनी गर्न ढिलाइ गर्नु नहुने उनको सुझाव छ ।

‘जल तथा मौसम विज्ञान विभाग, भारतको मौसम विभाग र दक्षिण एसियाको मौसम विभागले लामो समयको प्रक्षेपण गरेको छ, त्यो हेर्दा नेपालको पश्चिमी क्षेत्र र प्रदेश १ को हिमाली क्षेत्रबाहेक र मधेश प्रदेशको केही भू-भागमा अलि कम पर्ने र बाँकी भागमा कर्णाली, लुम्बिनी, सुदूरपश्चिम प्रदेशमा यस वर्ष औसतभन्दा बढी पानी र वर्षा हुने प्रक्षेपण गरिएको छ । यस वर्ष १७ लाख मानिस प्रभावित हुने प्रक्षेपण छ,’ उनले भने।

विज्ञ उप्रेतीले ७५३ वटा नै स्थानीय सरकारमा स्थानीय आपत्‌कालीन केन्द्रको व्यवस्थापन गर्ने कुरा ऐनमा भनिएको भन्दै त्यसले दिएको निर्देशनको आधारमा पूर्वतयारी थाल्नुपर्ने बताए । बढी पानी पर्ने भनेको बढी पहिरो र बाढी जाने सम्भावनाको कुरा रहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताए ।