काठमाण्डौं- काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० थान मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।
ट्राफिक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच विभिन्न कम्पनीका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीहरुलाई प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले हस्तान्तरण गरेका हुन्।
विभिन्न मिति र स्थानबाट हराएका भनी परेको हुलिया निवेदन पश्चात परिचालित ट्राफिक प्रहरी टोलीले विशेष सक्रियताका साथ खोजतलास गरी मोटरसाइकलहरु फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको एसएसपी जोशीले बताए।
उनले भने, 'हाम्रो टोलीले उपत्यका आसपासको ईलाकामा विशेष सूचना संकलन गरी अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्दछन्, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेका छौँ। अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेका छौँ।”