जेठ २७, २०७९ शुक्रबार

काठमाडौँ स् संयुक्त राज्य अमेरिकाका सेना कमाण्डर जनरल चार्ल्स ए फ्ल्यानले नेपाली सेनाको हेडक्वार्टर जङ्गी अड्डाको भ्रमण गरेका छन्।

जेठ २६ गतेदेखि नेपालको औपचारिक भ्रमणमा रहेका जनरल फ्ल्यानले आज जङ्गी अड्डाको भ्रमण गरेका हुन्। उनको सम्मानमा जङ्गी अड्डा परिसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गर्दै नेपाली सेनाको सैन्य सञ्चालन गतिविधिका बारेमा प्रस्तुतीकरण गरेको थियो।

सोही क्रममा, उनले प्रधान सेनापति महारथी प्रभुराम शर्मासँग भेटघाट गरेका छन्। भेटघाटका क्रममा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

उच्चपदस्थ अधिकारीहरूबाट विगतमा भएका सद्भावना भ्रमणको निरन्तरता स्वरुप उनी ४ दिने औपचारिक भ्रमणमा नेपाल आएका हुन्। भ्रमणका क्रममा जनरल फ्ल्यानले २८ गते माउन्टेन फ्लाइटमार्फत हिमाल अवलोकन गरी २९ गते पाँचखालस्थित नेपाली सेनाको श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजको भ्रमण सकेर स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई थप प्रगाढ पारी आपसी सद्भाव बढाउन मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ।