जेठ ३०, २०७९ सोमबार

कञ्चनपुर । नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा भएपश्चात् देशमा हिन्दुत्व र हिन्दु धर्म संस्कृतिमाथि निरन्तर प्रहार भइरहेको र धर्मान्तरण बढिरहेको भन्दै विभिन्न हिन्दु सङ्घ सङ्गठनहरूले धर्मनिरपेक्षताको खारेजी र हिन्दु राष्ट्रको पुनः स्थापनाका लागि माग गर्दै आइरहेका छन् । 

यस क्रममा कञ्चनपुरको बेलौरीमा हिन्दु स्वयंसेवक सङ्घ नेपालले शनिबार आयोजना गरेको सङ्घ शिक्षा प्रशिक्षण वर्गको समापन कार्यक्रमलाई सम्बोधन गर्दै सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले जनतालाई झुक्क्याएर षड्यन्त्रपूर्वक लेखिएको धर्म निरपेक्षतालाई संविधान संशोधन गरेर हिन्दु राष्ट्र लेखिनुपर्ने माग गरेका छन् । त्यस्तै जनगणनामार्फत हिन्दुलाई ११ ठाउँमा विभक्त गरेर ५०% भन्दा कम देखाउन सकेमा हिन्दु राष्ट्रको मुद्दालाई समाप्त पार्नका लागि ठूलो षड्यन्त्र भइरहेको आरोप लगाउँदै पूर्व प्रधानन्यायाधीश पराजुलीले विश्वको उत्कृष्ट धर्म र राष्ट्रको संरक्षण गर्न आह्वान समेत गरे

हिन्दु स्वयंसेवक सङ्घ नेपालका राष्ट्रिय सह–संघचालक तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक कल्याणकुमार तिम्सिनाले हिन्दु राष्ट्रको माग राजनीतिक नभई सांस्कृतिक रहेको बताए । नेपालको धर्म, संस्कृति, परम्परा, जनसङ्ख्या, भाषा र वेशभूषा इत्यादि सबै सिद्ध्याउनका लागि षड्यन्त्र भइरहेको चर्चा गर्दै हिन्दु राष्ट्र पुन:स्थापित हुनुपर्ने माग गरे ।

बेलौरी नगरपालिका वडा नम्बर ९ स्थित पशुपति शिक्षा मन्दिरको प्राङ्गणमा हिन्दु स्वयंसेवक सङ्घ नेपालले आयोजना गरेको २० दिवसीय सङ्घ शिक्षा वर्ग प्रथम वर्ष २०७९ को समापनका क्रममा अतिथि आगमन, ध्वजारोहण, प्रार्थना, शारीरिक प्रदर्शन, वर्ग परिचय, उद्बोधन र धन्यवाद ज्ञापन कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।