जेठ ३०, २०७९ सोमबार

कञ्चनपुर । कञ्चनपुरमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिकामा २ दिनदेखि नेपाल टेलिकमको अप्टिकल फाइबरमा अवरोध हुँदा नेटवर्कमा समस्या आएको छ ।  नेपाल टेलिकमको जिएसएम, मोबाइलमा नेटवर्क नहुँदा मोबाइलमा फोन नलाग्ने, बोलेको नबुझिने, इन्टरनेट नचल्ने समस्या भइरहेको हो । 

टेलिकमको अप्टिकल ब्रेक हुँदा नेपाल टेलिकमका सेवाग्राही समस्यामा परेका छन् । नेपाल टेलिकमको मोबाइल र ल्याण्डलाइन फोन दुवैमा समस्या आएको छ । पटक–पटक विभिन्न क्षेत्रमा नेपाल  टेलिकमको अप्टिकल फाइबर ब्रेक हुँदा आफूहरूलाई समस्या भइरहेको सेवाग्रहीको भनाइ छ । यद्यपि अहिले मर्मत कार्य चलिरहेको नेपाल टेलिकम अत्तरिया शाखाका वरिष्ठ इन्जिनियर प्रकाश भट्टले नेपालमार्गलाई बताए ।

अम्मरपुर-कलुवापुर खानेपानी उपभोक्ता समिति र झलारीमा सहरी विकास आयोजना एडिवीले निर्माण गरिरहेको सडकमा काम गर्ने ठेकेदार कम्पनीले नेपाल टेलिकमको अप्टिकल फाइबर धेरै ठाउँमा काटिदिँदा २ दिनदेखि झलारी बजारमा नेपाल टेलिकम अबरुद्ध भएको छ ।

जताततै अन्धाधुन्ध डोजर प्रयोग गर्ने उपभोक्ता समिति र ठेकेदारलाई कानुनी कार्वाही गर्न सेवाग्राहीले माग गरेका छन् ।

नेपाल टेलिकम महेन्द्रनगर शाखाका प्रमुख प्रितम भट्टले टेलिकमको लाइन काट्नेलाई कानुनी कार्वाही गरिने बताउँदै पत्राचार गर्ने काम भइरहेको बताएका छन् ।